नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभा ‘विघटन’ का सन्दर्भमा आफूलाई ‘पुनर्स्थापनाविरोधी’ का रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ ।
‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्,’ केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा देउवाले भने– ‘मैले प्रतिनिधिसभा पुनर्स्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? सर्वोच्च अदालतको फैसला कुरौं भनेको हो मैले ।’
प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेपछि देउवा आक्रोशित बनेका हुन् । सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा पौडेलले राखेपछि देउवा रुष्ट बने । पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने– ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’
आफू सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा देउवाले व्यक्त गरे । निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।