नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दोस्रो तहका धेरै नेता महासचिवको आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधिसभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेता समेत रहेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो ।
संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय समेत गरिसकेको नेकपाले महासचिव भने चयन गर्न सकेको छैन । तत्कालीन महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेकपाबाट अलग्गिएर ओली समूहमा लागिसकेकाले नेकपाले उनलाई समेत पदमुक्त गरिसकेको छ । खालि हुन आएको महासचिव पद हात पार्न तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे र घनश्याम भुसाल तथा तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा दौडधुपमा रहेको स्रोतको भनाइ छ ।
तर, तत्कालीन एमाले वा माओवादी केन्द्रमध्ये महासचिव कसले लिने भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ । तत्कालीन एमालेबाट कि माओवादी केन्द्रबाट भन्ने नै टुंगो नलागेको स्रोत बताउँछ । ‘पहिला पुरानो पार्टी कुनबाट हुने भन्ने टुंगो लागेपछि मात्र व्यक्ति को हुने भन्न सकिन्छ, दुई अध्यक्षबीच नै कुरा मिलिसकेको छैन’– स्रोतले भन्यो । स्थायी कमिटीको बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।