नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो निर्वाचन आयोगको ध्यान अन्य विभिन्न असान्दर्भिक विकल्पतिर गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् । विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो आयोगले विभिन्न अनावश्यक विकल्पमा अनौपचारिक छलफल अघि बढाएपछि नेकपाको बहुमत पक्ष र ओली समूह दुवै सशंकित बनेका हुन् ।
नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएकामा नेकपाका बहुमत पक्षका अध्यक्षद्वय प्रचण्ड र नेपाल सुरुदेखि नै सशंकित थिए । विवाद टुंगो नलगाउँदै निर्वाचन आचारसंहिताका विषयमा आइतबार छलफल गरेपछि सो पक्षले ‘आयोगले स्वतन्त्र अस्तित्व गुमाउँदै प्रतिगमनको चक्रब्युहमा फसेको’ निष्कर्ष कार्यक्रममा सहभागी नेताहरुले निकालेका छन् ।
‘स्वतन्त्ररुपमा निर्णय गर्ने शक्ति गुमाउँदै आयोग अनेक कानुनी छिद्र खोजेर पन्छिनतिर लागेको देखियो,’ छलफलमा सहभागी सो पक्षका कानुनविद् एवं पूर्वमहान्याधिवक्ता मुक्तिनारायण प्रधानले भने– ‘हाम्रो पक्षले माघ २० गते आधिकारिकता दाबी गरेर निवेदन दिँदादिँदै पनि आयोग अनेक कानुनी छिद्र खोजेर पन्छिन खोजेको आभाष भएको छ ।’
आयोगका पदाधिकारीले ‘अब नेकपा नाम र सूर्य चिह्न कुनै पनि पक्षलाई दिन गाह्रो हुने देखिएको’ अनौपचारिकरूपमा बताएको पनि उनको भनाइ छ । बहुमत पक्षले गरेको आधिकारिकता दाबीपछि नेकपाको विवाद राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ मा प्रवेश गरेको प्रारम्भिक धारणा राखेको आयोगले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाउनुले आयोगको स्वतन्त्र निर्णय गर्ने क्षमता र नियतमाथि प्रश्न उठेको पूर्वमहान्याधिवक्ता श्रेष्ठको भनाइ छ ।
विवाद निरुपण गर्नुको साटो यसैबीच आयोगले नेकपा र सूर्य चिह्न समेत ‘फ्रिज’ (निस्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छलफल गरिरहेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।