प्रधानमन्त्री खड्ग ओलीले गरेको संसद् ‘विघटन’ पछि सबैको नजर सर्वोच्च अदालतमै पुगेर अडिएका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा रामशाहपथ नै पुगेपछि दुई महिनादेखि चलिरहेको ‘सेटिङ’ को चर्चा फेरि चुलियो ।
प्रधानसेनापति ‘जग्गा हस्तान्तरण’ जस्तो प्राविधिक विषयमा कुरा गर्न अति संवेदनशील समयमा सर्वोच्च पुग्नुलाई सामान्य घटनाका रुपमा मात्रै हेरिएन । भलै एक घन्टाको समयमा प्रधानन्याधीश र प्रधानसेनापतिबीच के संवाद भयो भन्ने खुलिसकेको छैन । त्यसअघि आइतबार मात्रै सैनिक मुख्यालयमा राष्ट्रिय सेवा दलको कार्यक्रममा प्रमुख अतिथि भएर पुगेका ओलीले रुक्मांगत कटवाल प्रकरणतर्फ इंगित गर्दै ‘संस्थाहरुमाथि प्रहार हुन सक्ने भएकाले सचेत हुनुपर्ने’ बताएका थिए ।
जानकार स्रोतहरुका अनुसार ओलीले संसद् ‘विघटन’ गर्नुअघि पनि न्यायालय र नेपाली सेनाका प्रमुखलाई जानकारी गराएका थिए । सर्वोच्चले गर्न सक्ने फैसलालाई लिएर स्वयम् प्रधानमन्त्रीले संशय व्यक्त गरिरहेका बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापतिबीचको भेट थप अर्थपूर्ण देखियो ।
प्रधानमन्त्री ओली प्रतिनिधिसभा ‘विघटन’ गर्ने आफ्नो निर्णय सर्वोच्चले सदर गर्छ भन्नेमा साता दिन अघिसम्म ढुक्क देखिएका थिए । ढुक्क भएर निर्वाचनमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै आएका प्रधानमन्त्री ओलीको बोली शनिबारयता भने फेरिएको छ । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा पुगेर ‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिक्डम र सेटिङबाट प्रतिनिधिसभा विघटनको विपक्षमा फैसला आए आन्दोलन गर्ने’ बताउनु र आइतबार प्रवासी नेपालीसँगको संवादमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘ओलीको सेटिङ भत्किइसकेको’ बताउनु केवल अभिव्यक्ति मात्रै नभएर ‘आउने दिनको परिस्थितिबारे संकेत’ पनि हुन सक्छ ।
दुई महिनायता अन्योलबाट गुज्रिइरहेको मुलुक अब कसरी अघि बढ्ला ? सर्वोच्चमा चलेको लामो बहस, बहसका क्रममा उठेका तर्क, नेताहरुका यिनै अभिव्यक्ति र शक्तिकेन्द्रहरुको दौडधुप हेरिसकेपछि उनीहरुसँगैको कुराकानी र संकेतका आधारमा प्रतिनिधिसभा पुनर्स्थापित हुँदा र नहुँदाको अवस्थाबारे छुट्टाछुट्टै विश्लेषण यसरी गर्न सकिन्छ–
पुनर्स्थापना भए के हुन्छ ?
प्रतिनिधिसभाको पुनर्बहाली भनेको तत्कालका लागि समस्याको समाधान त हो तर दलहरूले भनेको जस्तै ‘लोकतन्त्रको पूर्ण पुनर्बहाली’ भने होइन । अहिले आन्दोलन उठिरहेका बेला यही संविधान, थुप्रै संवैधानिक व्यवस्था र आन्दोलनमा सरिक दलहरूमाथि पनि प्रश्न गरिएको छ । ती प्रश्नको सम्बोधन यिनै संसदीय दल र संसदभित्रैबाट गरिनुपर्छ तर त्यसअघि संसदको माहोल भिन्न हुनेछ ।
प्रतिनिधिसभा ‘विघटन’ गरेका प्रधानमन्त्रीले यही प्रतिनिधिसभा ब्युँतिँदा तुरुन्तै राजीनामा दिनुपर्ने हो । उनले राजीनामा दिए भने अर्को प्रधानमन्त्रीका लागि नेताहरूको दौडधुप सुरु भइहाल्छ तर प्रधानमन्त्री ओलीको स्वभाव र शैलीले त्यस्तो संकेत गर्दैन । ओलीले सोमबार मात्रै कञ्चनपुरमा ‘प्रतिनिधिसभा पुनर्स्थापित भए पनि नभए पनि आफ्नो राजनीति नसकिने’ अभिव्यक्ति दिइसकेका छन् । त्यसैले उनको पार्टी नेकपा नै अग्रसर भएर संसदीय दलको बैठक डाक्ने र ओलीलाई दलको नेताबाट हटाउने प्रक्रियाको सुरुआत गर्न सक्छ । तर, त्यो त्यति सजिलो बाटो होइन ।
तीन वर्षयता निरन्तर सत्तामा रहेका ओलीले आफ्नो पक्षमा सांसदलाई ल्याउने र पुनः संसदीय दलको नेता बन्न कोसिस गर्ने बाटो छँदै छ । यो संसदीय अभ्यास पनि हो । सांसद शेरबहादुर तामाङलाई आफूतिर तानेर उनले त्यसको संकेत गरिसकेका छन् ।
सर्वोच्चले आफ्नो निर्णय बदर गरिदिए संसदभित्र ‘हर्स–ट्रेडिङ’ अर्थात् सांसद किनबेच सुरु हुन्छ भन्ने ओलीको अभिव्यक्ति पछिल्लो समय दोहोरिँदै आएको पनि छ; जसको अभ्यास २०५१ को मध्यावधि चुनावयता नेपाली राजनीतिमा पटक–पटक र अत्यन्तै कुरूप ढंगबाट भइरहेको छ । सोमबार कञ्चनपुरमा पनि ओलीले त्यही दोहोर्याउँदै भने– ‘बहुमत कुनै पार्टीको छैन, सांसद किनबेच सुरु हुन्छ, फेरि फोहोरी खेल सुरु हुन्छ ।’ यो नेकपाको संसदीय दलमा अत्यधिक हुने देखिन्छ ।
अहिलेकै अवस्थामा कानुनतः नेकपा विभाजित हुन मिल्दैन किनभने दल विभाजनका लागि पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सांसद हुनैपर्ने बाध्यात्मक अवस्था छ । अप्ठ्यारै पर्यो भने ओलीले अध्यादेशमार्फत त्यसलाई संशोधन गर्ने विकल्प खुलै राखेका छन् । त्यसमा उनले आफूसँग रहेको संख्याको आँकलन गरेका छन् ।
अहिले उनीसँग संसदीय दलमा करिव ४६ प्रतिशत सांसद रहे पनि केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या छैन । पछिल्लो समय यता–उता गरेका केही सांसदलाई छाडेर पुस ५ मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदको संख्यालाई आधार मान्ने हो भने ९० जना दाहाल–नेपालतिर छन् । १ सय ७३ जनामा वामदेव गौतमतिरका दुई सांसद घटाउँदा ओलीसँग ८१ जना रहन्छन् । ८१ जना सांसद ओलीलाई फेरि नेकपाको संसदीय दलको नेता बनाउन पर्याप्त छैनन्, त्यसैले उनी संसदीय दलमा फेरि लडे भने पनि पराजित हुनेछन् ।
‘संसद् पुनर्स्थापना भयो भने ओलीको निरन्तरताको सम्भावना न्यून छ, संसदलाई जसरी केपी ओलीले मार्नुभयो, अदालतले ब्युँताइदियो भने आफूलाई मार्ने प्रधानमन्त्रीप्रति संसदले कारबाही गर्नु स्वाभाविक हो,’ अधिवक्ता टीकाराम भट्टराईले भने– ‘आफूलाई अस्वाभाविक मृत्युवरण गराउने प्रधानमन्त्रीलाई संसदले यत्तिकै छाड्नु हुँदैन, दण्डित गर्नुपर्छ, ताकि भविष्यमा कसैले यो दुस्साहस नगरोस् ।’
नेकपाको संसदीय दलभित्रको यो गन्जागोल पार लागेपछि नेगोसिएसनको अर्को चरण सुरु हुन्छ, जुन संसदभित्र चल्छ । ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस हुन सक्छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भावी प्रधानमन्त्रीको उम्मेदवार नभएको सार्वजनिक अभिव्यक्ति दिइसकेका कारण नेकपा (दाहाल–नेपाल) समूह, कांग्रेस र जसपाको संयुक्त सरकार बन्न सक्छ । नेकपाको यो समूहमा ९० जना सांसदको हिसाब गर्ने हो भने पनि कांग्रेसका ६३ र जसपाका ३४ जना सांसद जोड्दा १ सय ८७ जना पुग्छन्, जुन दुईतिहाइ बहुमतको सरकारका लागि पर्याप्त संख्या हो ।
सरकार बनाउन आवश्यक पर्ने सामान्य बहुमत अर्थात् १ सय ३८ जना विभाजित नेकपाबाट मात्रै पुर्याउन भने असम्भवप्रायः छ । जसपालाई नै जोड्दा पनि १ सय २४ मात्रै पुग्छ, जसपा र नेकपाको संयुक्त सरकार बनाउन दाहाल–नेपाल समूहले ठूलो मेहनत गर्नुपर्ने हुन्छ । त्यसैले कांग्रेसको भूमिका महत्त्वपूर्ण हुन्छ । कांग्रेससँग अर्को विकल्प पनि छ, जुन पार्टी सभापति शेरबहादुर देउवासित बढ्ता सम्बन्धित छ ।
संसद् विघटनअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएका भनिएका संवाद र सहमति तथा चुनावकेन्द्रित देउवाका अभिव्यक्तिका कारण चुनावै गराउने ओली र देउवाको सहमति भएको हो कि भन्ने आधार पनि छन् । त्यसो भएकै हो भने कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्तावमा मत हाल्ने तर नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी नहुने गर्न पनि सक्छ । त्यसो हुँदा प्रतिनिधिसभाबाट नयाँ प्रधानमन्त्री आउने सम्भावना रहँदैन र संविधानअनुसार नै मुलुक मध्यावधि चुनावमा जानुपर्ने हुन्छ ।
संसदीय जोडघटाउको राजनीतिमा यो विकल्प भए पनि सम्भावना भने न्यून छ । संसद् पुनर्स्थापना हुँदा ठूलो फाइदा कांग्रेसलाई छ, त्योभन्दा ठूलो फाइदा सभापति देउवालाई हुन्छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय बदर भयो भने राजनीतिक अस्थिरता झन् झाँगिने तर्क गर्छन्, प्राध्यापक खड्ग केसी । ‘संसद् पुनर्स्थापित भयो भने राजनीतिक अस्थिरता बढ्छ, केही मान्छेले अवसर पाउलान् तर फेरि चुनाव हुने बेलासम्म विकास केही हुन्न, हामी सरकार बनाउने र ढाल्नेमै व्यस्त हुन्छौं ।’ अधिवक्ता भट्टराई भने संविधानले संसदका धेरै विकृति हटाउने व्यवस्था गरिसकेकाले अहिलेको परिस्थिति फेरिएको र संसदको गलत अभ्यासको निगरानी संसदले नै गर्ने बताउँछन् ।
‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय बदर भए संविधान लिकमा आउँछ, जनताको सार्वभौमसत्ता स्थापित हुन्छ, संसदीय प्रक्रिया सुचारु हुन्छ, भविष्यमा फेरि कसैले पनि विघटनको दुस्साहस गर्दैन, न्यायालयप्रतिको जनताको गरिमा र आस्था अझै उच्च हुन्छ, राजनीतिक दलहरू सदृढ र बलिया हुन्छन्, लोकतन्त्र र गणतन्त्र स्थापित हुन्छन्,’ भट्टराईले भने– ‘संसदीय व्यवस्थामा संसदभित्र हुने लडाइँलाई स्वाभाविक मान्नुपर्छ, यसलाई संसद् आफैंले करेक्सन र नियन्त्रण गर्छ ।’
‘विघटन’ सदर भए के हुन्छ ?
प्रतिनिधिसभा ‘विघटन’ को निर्णय सर्वोच्चबाट सदर भए बालुवाटार झन् बलशाली हुनेछ । त्यसपछि दुईवटा परिदृश्य देखापर्न सक्छन्– पहिलो; तोकिएको मितिमै चुनाव हुन्छ, दोस्रो; चुनाव हुँदैन । चुनाव भइहाल्यो भने राजनीतिक खिचातानी लयमा आउन पनि सक्छ, कथम् भएन भनेचाहिँ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भनेझैं मुलुक अँध्यारो सुरुङभित्र पस्छ । निर्वाचन आयोगमा नेकपाभित्रको विवाद सल्टिइनसकेको अवस्थामा गत चुनावमा ६४ प्रतिशत मत ल्याएको पार्टी नाम र चुनाव चिह्नविहीन हुन्छ ।
पार्टी नै नभएका नेताहरूले चुनावमा स्वतन्त्र उम्मेदवारी दिनुपर्छ । एउटा ठूलो पंक्तिलाई बाहिरै राखेर हुने चुनावको सफलता–असफलताबारे दलहरू र स्वयं निर्वाचन आयोग जानकार छन् । तर, प्राध्यापक खड्ग केसी भने चुनाव हुने र लोकतन्त्र ट्र्याकमा आउने बताउँछन् । ‘प्रधानमन्त्रीले चुनाव गराउँछु भनेर घोषणा गरिसक्नुभएको छ, हुँदैन भनेर अनुमान गर्नु गलत हो । हाम्रै अभ्यासहरू पनि छन् नि, आफैं हार्ने चुनाव देउवाले पनि गर्नुभयो, गिरिजाप्रसादले गर्नुभयो,’ केसीले भने– ‘कम्युनिस्टहरूले त आफ्नो खुट्टामा बञ्चरोले हाने–हाने, त्यो अर्को पाटो भयो तर जसले जिते पनि चुनाव गर्नु नै मुलुकले लोकतान्त्रिक बाटो पक्रिनु हो, त्यसलाई रिग्रेसिभ भन्न सकिन्न ।’
असार ५ सम्म चुनाव हुन सकेन भने अर्को संवैधानिक संकट आउँछ । प्रधानमन्त्री ओलीविरुद्ध फेरि आन्दोलन हुन थाल्छ । त्योभन्दा ठूलो कुरा, संविधानको धारा ८५ ले गरेको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालको प्रावधान उल्लंघन हुन्छ । प्रधानमन्त्री अप्ठ्यारोमा पर्नेबित्तिकै चुनाव गराउने गलत नजिर स्थापित हुन्छ ।
अधिवक्ता टीकाराम भट्टराई भने संवैधानिक शून्यताले निम्त्याउने असर भयानक हुने विश्लेषण गर्छन् । ‘संवैधानिक शून्यता हुन्छ, अवैध सत्ताबाट शासित हुन नेपाली जनता बाध्य हुन्छन्, अवैध सत्ताबाट शासित हुनुपर्दा जनतासँग विद्रोहको अधिकार हुन्छ,’ भट्टराईले भने– ‘अवैध सत्तालाई विद्रोहमार्फत फाल्नुको विकल्प छैन तर त्यो विद्रोह जनता, दक्षिणपन्थी शक्ति या सैन्य शक्ति कसले गर्छन्, परिकल्पना गर्न नै सकिन्न ।’
यतिबेलाको सबैभन्दा तातो चासोबारेको यो विश्लेषण बिनु सुवेदीको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।