कोही मान्छे जब दृष्टिकोणमा प्रष्ट हुँदैन, तब उसले पटक–पटक एउटै कुराको प्रष्टीकरण दिइरहनुपर्छ । जस्तो कि अहिले प्रधानमन्त्री खड्ग ओलीमाथि गणतन्त्र नै सिध्याउन लागेको आरोप छ । र, उनले पटक–पटक भन्नुपर्ने भएको छ– ‘म गणतन्त्रका लागि १४ वर्ष जेल बसेको मान्छे !’
प्रधानमन्त्री यस्तो समस्यामा पर्नुको कारण हो उनकै बाध्यताद्वारा सिर्जित विसंगतिहरू । जनसभाहरू आयोजना गर्नुपरेको छ, मान्छे चाहिन्छ । हिन्दू धर्मको एजेन्डा बोक्छु भनेर पशुपतिमा ३० करोड दिन पुगेका छन् । ‘होला त’ भनेर हिन्दूवादीहरू पछि लागेका छन् । आरोप छ– संसद् विघटनमार्फत संविधान र व्यवस्था नै तलमाथि पार्न लागेको । अनि भन्नुपरेको छ– ‘म गणतन्त्रवादी नै हुँ ।’
२३ माघमा नारायणहिटीको ढोकामा उनले गरेको सभामा ‘नौलो कुरा बोल्दैछन्’ भनेर शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पत्रकार सम्मेलनमै भने । हिन्दू र राजावादीहरूको आशा थियो– उनीहरूको एजेन्डामाथि केही न केही सम्बोधन हुँदैछ । तर, प्रधानमन्त्रीले त्यस्तो केही बोलिदिएनन् । यसबाट उनीहरूले ‘धोका पाएको’ महसुस गरे । भनिन्छ, राजावादी वकिलहरूले उनको पक्षमा सर्वोच्चमा बहस गरेको पनि त्यही भनेर नै हो । तर, अहिले उनीहरू पनि ‘धोका पाइयो’ भन्नेमा नै पुगेका छन् ।
दुःख कस्तो भने राजावादीलाई फकाउनु छ, गणतन्त्रवादीलाई पनि फकाउनै परेको छ । त्यसैले उनी अहिले ‘संविधानको रक्षा गर्छु, लोकतन्त्र खान्न, गणतन्त्र मास्दिनँ, मेरो प्रतिबद्धता छ’ भन्नुपर्ने स्थितिमा पुगेका छन् ।
हिजो ओलीको क्याबिनेटमा कमल थापा उपप्रधानमन्त्री हुँदा ‘यो संविधानप्रति प्रतिबद्ध छु’ भनेर स्पष्टीकरण दिनु परेजस्तो आज त्यो दुःख ओलीलाई नै आइलागेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।