संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरूले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए ।
सर्वोच्चमा बुधबार १२ जना न्यायाधीशको मात्र इजलास रहेको थियो । संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशमध्ये केही अझै दुई–तीन दिन बिदामा रहने बताइएको छ । संवैधानिक इजलासमा रहेकामध्ये प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी प्रतिनिधिसभा ‘विघटन’ को मुद्धा हेर्नेमा समावेश थिए ।
एक महिनाभन्दा बढी लगातार इजलासमा बसी प्रतिनिधिसभा ‘विघटन’ गैरसंवैधानिक भएको दाबीका साथ दायर गरिएको रिट निवेदनको सुनुवाइ उनीहरुले गरेका थिए । आराम गर्नका लागि पनि उनीहरु केही समय बिदामा रहेको बताइएको छ ।
प्रधानन्यायाधीश राणासहित अन्य चार न्यायाधीशहरूले माघ ४ देखि लगातार ती रिट निवेदनको पक्ष–विपक्ष र एमिकस क्युरीका तर्फबाट भएको बहस सुनेका थिए । उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना हुने आदेश मंगलबार साँझ दिएका थिए ।
बिहीबारको नेपाल समाचारपत्र दैनिकबाट