newskoseli.Com

एक–अर्कालाई ‘सिध्याउने’ तहमै नेकपा विवाद : कसको रणनीति के ?

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाका प्रचण्ड–माधव पक्ष र ओली समूहले एक–अर्कालाई असफल बनाउन नयाँ–नयाँ रणनीति अघि सार्दै आएका छन् ।

प्रचण्ड–माधव पक्षले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, संसदीय दल वा संसदमा प्रधानमन्त्री खड्ग ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने, ओलीलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ । प्रचण्ड–माधव पक्षले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ ।

ओली समूहको रणनीति भने प्रचण्ड–माधव पक्षलाई कमजोर बनाएर संसद वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप उल्लंघन गरे पार्टी सदस्यबाटै हटाउने र त्यसपछि बन्ने सरकारलाई बहुमत पुग्न नदिने अनि अन्तिममा संसद् विघटन गर्ने रहेको स्रोतको दाबी छ । नेकपाका दुवै समूहले नयाँ–नयाँ आन्तरिक रणनीति बनाइरहँदा कांग्रेसले भने मौनता देखाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका एक नेताले भने– ‘प्रचण्ड–माधव पक्ष कानुनीरूपमा विभाजित हुनुपर्ने, विभाजन नभएको अवस्थामा अवस्था हेरेर निर्णय लिने र वैधानिकरूपमा संसदबाटै संसद् विघटन गराएर निर्वाचनमा जाने हाम्रो रणनीति हो ।’ अहिले नेकपा नै मुख्य समस्याको जड भएको कांग्रेसका धेरै नेताको भनाइ छ ।

कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्– ‘समस्या नेकपाभित्रै छ, त्यसभित्रको समस्या समाधान नभएसम्म कांग्रेसलाई निर्णय गर्न कठिन छ ।’ नेकपामा तटस्थ रहेका वामदेव गौतम र प्रचण्ड–माधव पक्षका केही नेता भने दोस्रो तहको प्रधानमन्त्रीको खोजीमा लागिरहेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर