‘म मेरै क्रेडिबिलिटी खत्तम पार्नेहरुसँग कसरी जान्छु ? हुँदैन, जान्नँ…’ स्वभावतः लाभका मामिलामा ‘चाहिएन’, ‘हुँदैन’, ‘पर्दैन’ नभन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यसो भन्नेमा आज एकाएक किन पुगे होलान् ?
सर्वोच्च अदालतले प्रतिनिधिसभाको ‘विघटन’ ११ फागुनमा बदर गरेपछि नयाँ सरकार गठन र सत्ता समीकरणका अभ्यासलाई लिएर उनीसँग विभिन्न व्यक्ति, दल र समूहका परामर्श चलिरहेका छन् । सत्तारुढ नेकपा विभाजित भइरहेको स्थितिमा देउवामाथि आँखा लगाउने एउटा समूहसँग उनले भनेका छन्– ‘माधव–प्रचण्डभन्दा मेरा लागि केपी ओली नै ठीक ।’
यसो भन्नुका पछाडि देउवाको तर्क छ, एमसीसीसँग जोडिएको । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन .एमसीसी)’ । उनी प्रधानमन्त्री रहेकै बेला सम्झौता भएको तर संसदबाट अहिलेसम्म अलपत्र परेको विषयलाई अल्झाइदिएकोप्रति उनको ठूलो चिन्ता रहेछ । ‘अन्तर्राष्ट्रियजगतमा मेरो क्रेडिबिलिटी (विश्वसनीयता) बिगार्ने काम जसले गर्छ, त्यसलाई साथ दिन्नँ । त्यो सपार्ने काम प्रचण्डहरुबाट हुँदैन, ओलीबाटै हुन्छ’– नयाँ सत्ता समीकरणका विषयमा कुरा गर्न पुगेको एउटा राजनीतिक समूहसँग केही दिनअगाडि मात्रै उनले यसो भने ।
नत्र, पाँचौं पटक प्रधानमन्त्रीजस्तो ‘अफर’ पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावका मान्छे नै होइनन् । तर, एमसीसी पारित नहुँदा उनको मन कति पोलेको रहेछ भन्ने यो अभिव्यक्तिले पनि जनाउँछ । तर, जसलाई जे जवाफ दिए पनि अब सदनमा पेस हुने प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आगामी प्रधानमन्त्रीका रुपमा वैकल्पिक नामचाहिँ शेरबहादुरको हुनैपर्छ । यदि उनले प्रधानमन्त्री बन्न माने भने पुरानो प्रस्तावमा उनकै नाम मुख्य बनेर जान्छ, नभए पनि वैकल्पिकमा त जान्छ–जान्छ । यदि, मुख्य व्यक्तिका रुपमा उनी अगाडि सारिए भने त अर्को प्रधानमन्त्रीको कल्पना नै हुँदैन ।
शेरबहादुर आफ्नो मूल सरोकार रहेको विषय (एमसीसी) का सन्दर्भमा नेकपाका दुई समूहमध्ये जसले साथ दिन्छ, समर्थन पनि त्यसैलाई गर्ने तर एमसीसी पारितको सर्त अगाडि राखेर त्यो प्रस्ताव सदनबाट पारित नहुँदासम्म सरकारमा सहभागी नहुने रणनीतिमा छन् भनिन्छ । त्यस क्रममा अहिलेसम्म उनले प्रचण्डहरुलाई विश्वास नगरेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।