नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत (प्रचण्ड–माधव) पक्षले बुधबार नयाँ सरकार गठनका लागि सबै दलहरुसँग सहकार्य गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ‘ग्रीन सिग्नल’ पाएको थियो । तर, बिहीबार विकसित घटनाक्रमले भने प्रचण्ड–माधव पक्षसँग कांग्रेस सशंकित बनेको देखिएको छ र प्रचण्ड–माधव पक्ष पनि कांग्रेससँग झस्कन पुगेको छ ।
संसदको बैठक सुरु हुनुभन्दा चार दिनअघि बुधबार प्रचण्ड–माधव पक्षले नेपाली कांग्रेसबाटै सरकारको नेतृत्व गराउने गरी प्रधानमन्त्री खड्ग ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो । सो पक्षले बुधबार केन्द्रीय कमिटीको बैठक राखेर नयाँ सरकार गठन गर्ने विषयमा सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय भएको हो । त्यसै अनुसार सरकारको नेतृत्व गर्न कांग्रेससँग प्रस्ताव राखिएको थियो । प्रचण्ड–माधव पक्षले नयाँ सरकार गठनका लागि खुला छलफल गर्ने बताउनु र देउवाले पनि प्रधानमन्त्रीको अफर आए सरकारको नेतृत्व गर्ने बताएपछि दुवै पक्षबीच सरकार गठनमा सहकार्य गर्ने सहमति बनेको बुझ्न सकिन्थ्यो ।
तर, बिहीबार कांग्रेसले ‘सरकारमा जान हतार नगर्ने’ भनेपछि प्रचण्ड–माधव पक्ष झस्किएको छ । ‘हिजो प्रधानमन्त्रीका लागि देउवालाई समर्थन गर्ने गरी कांग्रेससँग सहमति भएको थियो तर आज भने ‘हतार छैन’ भन्ने आयो, यसले हामीलाई सशंकित बनाएको छ’– प्रचण्ड–माधव पक्षका एक नेताले भनेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।