newskoseli.Com

ओलीविरूद्ध अविश्वसको प्रस्ताव दर्ता गर्न यस्तो छ गृहकार्य

प्रधानमन्त्री ओलीको फाइल तस्बिर

नेकपाको बहुमत (प्रचण्ड–माधव) पक्षले प्रधानमन्त्री खड्ग ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ । शुक्रबार संसदीय दलको बैठक राखेर सो पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता समेत चयन गरिसकेको छ ।

सो पक्षले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । संसदीय दलको नेता चयन भएपछि आफूहरूलाई ओलीले अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारेको प्रचण्डले बताए । ‘बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रूपमा चयन गर्नुभएको छ, यसलाई मैले चुनौतीका रूपमा लिएको छु । आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ’– बैठकपछि प्रचण्डले भने ।

अहिले नै प्रधानमन्त्री बन्न आफूलाई हतार नभएको बताउँदै उनले अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताए । ‘अहिले हामी छलफलमै छौं, संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक र स्वेच्छाचारी भनेर सडकमा गएका दलसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ,’ प्रचण्डले भने– ‘अहिले छलफलमै छौं, एक–दुई दिनमा टुंगो लाग्छ ।’

अविश्वासको प्रस्तावका सम्बन्धमा प्रचण्ड–माधव पक्ष कांग्रेसको निर्णय कुरेर बसिरहेको छ । शुक्रबारको संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ । ‘अहिले १ सय ११ जना सांसदको हस्ताक्षर भएको छ, ४ जना अझै आउँदै हुनुहुन्छ’– सांसद यज्ञराज सुनुवारले भने । उनका अनुसार संसदीय दलमा बहुमत पुगेकाले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरिएको हो ।

संसदीय दलमा समेत बहुमतमा नरहेका प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने प्रचण्ड–माधव पक्षले जनाएको छ । तर, ओली राजीनामा दिने पक्षमा नभएपछि प्रचण्ड–माधव पक्षले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको प्रस्ताव गरेको छ । जनता समाजवादी पार्टीले सहयोग गर्ने जनाए पनि कांग्रेसले भने निर्णय गरिसकेको छैन ।

भावी प्रधानमन्त्रीको विषय एक–दुई दिनमा टुंगो लाग्ने प्रचण्डले बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर