बालुवाटारबाट आएका प्रस्तावलाई आँखा चिम्लेर लाहाछाप लगाइदिने राष्ट्रपति विद्यादेवी भण्डारीका कारण उनकै नातेदार समेत आजित छन् । यसरी मर्कामा पर्ने र हैरानी खेप्नेमा सम्धिनी किरण यादवदेखि अर्का नातेदार ज्ञानेन्द्रबहादुर कार्कीसम्म रहेको बताइन्छ ।
आफ्नै निर्वाचन क्षेत्रमा हिँड्दा राष्ट्रपतिकी सम्धिनीले लज्जित हुनुपर्ने स्थिति आइलागेको हो । अघिल्लो निर्वाचनमा सम्धिनीलाई महोत्तरीबाट जिताउन मधेशी मूलका एक सल्लाहकारमार्फत राष्ट्रपतिले खर्च पठाएकी थिइन् । किरणले जनता समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारीलाई ‘पहाडे समुदायको’ भएकाले यादवलाई नै जिताउनुपर्छ भन्दै भोट मागेकी थिइन् । यद्यपि यादव समुदायबाहेक अरूको मन जित्न सकिनन् ।
संसद् ‘विघटन’ भई १७ र २७ वैशाखमा निर्वाचनको मिति तय भएको स्थितिलाई लक्ष्य गर्दै अघिल्लो हप्ता किरण मतदाताबीच पुग्दा ‘तपाईंकी सम्धिनीले त यस्तो गरिन्, उस्तो गरिन् भन्दै आक्रोश सुन्नुपरेको थियो । उस्तै हाल छ अर्का नातेदार (फुपूका छोरा) ज्ञानेन्द्रबहादुर कार्कीको । सधैं आरजू देउवाको आशिर्वादले सत्तामा टाँसिइरहन सफल भनिएका कार्की गत चुनावमा पहिलो पटक सुनसरीबाट निर्वाचित भए । तिनताक उपेन्द्र यादवको पार्टीका नेता अशोक राईलाई कांग्रेसले समर्थन गरिदिँदा उपेन्द्रको समर्थन ज्ञानेन्द्रलाई मिलेको थियो ।
उसो त किरणकी बहिनी रेखा यादव सुरुदेखि नै नेविसंघको राजनीतिमा लागेकी । मधेश आन्दोलनताकाका शरतसिंह भण्डारीको पार्टीमा लागेपछि किरणले त्यही मौका छोपेर ठूलोबुबा (पूर्वराष्ट्रपति रामवरण यादव) लाई फकाई–फुल्याई कांग्रेसबाट समानुपातिक सांसद बन्ने अवसर पाइन् । महोत्तरीकै पुराना कांग्रेसी दलित महिलालाई दिनुपर्ने हो तर त्यसो नगरी रामवरणले गिरिजाबाबुलाई फकाएर भतिजीलाई सांसद बनाइदिए ।
आफू कांग्रेसको भए पनि रामवरण राष्ट्रपति हुनुपूर्व पहिलो संविधानसभा चुनावताका उनका (रेखाका) पति मुनिलालचाहिँ तराई मधेश लोकतान्त्रिक पार्टीतिर खुलेरै लागे । मुनिलालले ससुरा पर्ने रामवरण राष्ट्रपति र पत्नी सांसद भएको मौका छोपी अख्तियारमा सिफारिस गर्न लगाए, परे पनि तर धोका दियो प्रमाणपत्रले । पमाणपत्र जालसाजीको भन्ने पोल खुलेपछि सिफारिस रद्द भयो । सर्वोच्चले त्यो समय सिफारिस भएका प्रमुख आयुक्तदेखि सबैको सिफारिस रद्द गरिदिएपछि उदय भएको थियो लोकमानसिंह कार्कीको ।
सम्धी मुनिलाललाई विद्या भण्डारीको सिफारिसमा फेरि अख्तियारमा नियुक्त गर्ने कोसिस भएको पनि हो तर किरण परे रामचन्द्र र शशांक टिमको । देउवाको रोजाइमा परे आफ्नै भेगीय र गोजीको पात्र जयबहादुर चन्द । चन्द सिफारिस भएपछि मुनिलालको तानाबाना समाप्त भयो ।
तर, सम्धिनी राष्ट्रपति भएकोमा यो समूहले फाइदा उठाइरहेकै छ, यसको पछिल्लो उदाहरण हो जल तथा ऊर्जा आयोगका सचिव रमेश सिंहलाई हालै मात्र सहरी विकास मन्त्रालयमा ल्याइनु । सहरी विकासभित्र ठूलठूला योजना हुने हुँदा यो मालदार मन्त्रालयमा पर्ने खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।