२०७२ मा नेकपा (एमाले) को नवौं महाधिवेशनबाट खड्ग ओली अध्यक्ष चुनिएका थिए । महाधिवेशन भएको तीन वर्षमै अध्यक्ष ओलीले तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण गराएर एमाले पार्टी विघटन गराइदिए ।
पार्टी विघटन हुनुपूर्व सत्ता–स्वार्थबाट प्रेरित भएर संघीय संसदको निर्वाचनमा दुई पार्टीबीच चुनावी गठबन्धन गरे । एउटै घोषणापत्रमा निर्वाचनमा भाग लिए र जनतामा गए । जनताले पनि पत्याइदिए, झन्डै दुईतिहाइ मत दिएर सरकारमा पठाए ।
तत्कालीन एमालेकै तर्फबाट ओली प्रधानमन्त्री बने । दुईतिहाइ मतको हाराहारीमा पुगेको नेपालको कम्युनिस्ट पार्टी (नेकपा) ले बलियो सरकार बनायो । त्यसको नेतृत्व हालका प्रधानमन्त्री ओलीले गरे । नेपालको इतिहासमा २०१५ पछिकै सबैभन्दा बलियो सरकार २०७४ फागुनमा बनेको थियो ।
सरकार बन्नुपूर्व दुई पार्टीको एकीकरण गर्ने र त्यहीअनुसार अघि बढ्ने गरी तत्कालीन एमाले अध्यक्ष र तत्कालीन माओवादी केन्द्रका अध्यक्षले सत्ता साझेदारीका लागि तीनबुँदे सहमति गरेका थिए । त्यो सहमति धेरै समयसम्म गोप्य राखियो । प्रधानमन्त्री ओलीले भारत भ्रमण गरिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आधा–आधा कार्यकाल सत्ता साझेदारीसम्बन्धी उक्त गोप्य सम्झौताको रहस्य खोलिदिएपछि विवाद सुरु भयो ।
दुई अध्यक्ष बनाइएको पार्टीमा एउटा अध्यक्ष प्रधानमन्त्री बन्ने र अर्को अध्यक्षले पार्टी सञ्चालन गर्ने सहमति पनि भयो । तर, त्यस्तो सहमति कार्यान्वयन हुने र गति लिने अवस्था आएन । सत्ता स्वार्थमा पार्टीभित्र पटक–पटक आएको विग्रहमा माधव नेपाल समूहलाई जसरी पनि किनारा लगाउने काम भयो । नेपाल पक्षले आन्तरिक संंघर्ष अघि बढाउँदा बढाउँदै प्रधानमन्त्री ओलीले पुस ५ मा संसद् विघटन गरिदिए ।
संसद् विघटन भएपछि भने नेकपा राजनीतिकरूपले विभाजित भयो । आइतबार सर्वोच्च अदालतले नेकपा नाममा फैसला सुनाउँदा उक्त पार्टीको नाम ऋषि कट्टेलका पक्षमा गएपछि र नेकपाको समग्र एकता प्रक्रिया नै भंग भएपछि भने दुई पार्टी एकीकरणपूर्वकै अवस्थामा फर्किए, जसका कारण सत्ता स्वार्थमा जोडिएका दुई ‘कम्युनिस्ट’ पार्टीहरू पूर्ववत् अवस्थामा फर्कन बाध्य भएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।