नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम फेर्नका लागि छलफल थालेको छ । एमालेसँग पार्टी एकता भएर ‘नेकपा’ बनेसँगै माओवादी केन्द्र विघटन भए पनि सर्वोच्चले सोही पार्टी ब्युँताइदिएको थियो ।
तर, अहिले फेरि माओवादी केन्द्रले पार्टीको नाम फेर्ने गरी छलफल थालेको हो । बुधबार सम्पन्न स्थायी कमिटीको बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको तर कुनै निर्णय भइनसकेको स्थायी कमिटीका सदस्य जनार्दन शर्माले बताए ।
पार्टीको नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए । ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौं’– नेता श्रेष्ठले भने ।
पार्टीको नाम फेर्न विभिन्न पक्षबाट सुझाव आएको बताउँदै अध्यक्ष प्रचण्डले उपयुक्त समयमा नाम फेर्ने कुरा बैठकमा राखेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।