ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गल्याङ नगरपालिका– ८ का सुनील राना पक्राउ परेका हुन् । घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ– ९, पारीचौरस्थित बेलचौर–सांखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लु अ फ १०२० अस्थायी नम्बरको ट्र्याक्टरबाट खसेर गल्याङ– ८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकामा चोट लागेका थियो ।
‘ट्र्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्र्याक्टरमा राखेछन्,’ अधिकारीले भने– ‘पारीचौरबाट ट्र्याक्टर मोडेर फेरि सांखरस्थित कालीगण्डकी नदीको किनारमा लगेछन् र घाइते गाहालाई त्यहींबाट नदीमा फालिदिएछन् ।’ आइतबार सूचना पाएपछि प्रहरी अधिकृतको टोली खोजतलासमा लागे पनि गाहा अहिलेसम्म नभेटिएका उनले बताएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।