एमाले नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई घन्टा लामो छलफल गरेर कोटेश्वरस्थित एक व्यापारीको घरबाट निस्कँदा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओली उनलाई ‘कारबाही’ गरेको पत्रमा सही गरीवरी नेपाल–बंगलादेशबीचको फुटबल हेर्न रंगशालातिर लागेका थिए ।
माले मोरङ, कोअर्डिनेसन केन्द्र हुँदै २०३५ मा नेकपा (माले) पार्टी बनेयता मुख्य जिम्मेवारीमा एकछत्र रहँदै आएका नेता नेपाललाई पहिलो पटक सोमबार उनको पार्टी एमालेले ‘निलम्बन’ गरेको हो । निलम्बनमा परेसँगै नेपालका अगाडि दुइटा विकल्प छन्– एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने ।
‘स्पष्टीकरण’ सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालका गतिविधि यी दुवै विकल्पमा केन्द्रित छन् । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरूसम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन ।
‘अहिलेसम्म माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिन्छ र नेकपाको एकतालाई नमान्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन्छ भन्ने निश्चित भइसक्यो,’ नेपालसम्बद्ध स्रोतले भन्यो– ‘तर, ओलीलाई दिइएको समर्थन फिर्ता लिए पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ या हुँदैन भन्ने निश्चित भएको छैन, माधवजीहरूको अबको बाटो त्यसपछि मात्रै थप क्लियर होला ।’
ओली र नेपालको सहयात्रा भने पछिल्लो घटनाक्रमले विसर्जनोन्मुख नै देखिन्छ, यसको तात्कालिक असर माधवलाई परे पनि दीर्घकालीन अप्ठ्यारो भने एमालेलाई नै हुनेछ ।
यसरी एकलौटी निर्णय गर्दा आफैंले नेतृत्व गरेको पार्टी एमाले आउँदा दिनमा झन् कमजोर बन्ने सम्भावनालाई भने ओलीले नकारेका छन् । यही हिसाबमा, अहिलेकै परिस्थितिमा हेर्दा ओली नेतृत्वको एमाले थप कमजोर बन्दै जाने विश्लेषक विष्णु सापकोटा आँकलन गर्छन् । ‘माधव नेपाल भनेको एक हिसाबमा आधा एमाले हो, निलम्बनपत्रले ओली कुन हदसम्म बदलाको भावले परिचालित हुन सक्छन् भन्ने देखाउँछ । अहिले केन्द्रीय कमिटीको पूर्ण बैठक समेत छलेर प्राविधिकरूपमा हतार–हतार कारबाही भनिएको छ, पार्टीमा अन्तर्संघर्ष हुन्छ तर यो कारबाही हामी बाहिरबाट हेर्नेहरूका लागि पनि क्रूर देखिन्छ,’ उनले भने– ‘अब वातावरण यस्तो बनाइएको छ कि यो त अति भयो भनेर कोही बोल्न सक्छन् जस्तो लाग्दैन, अब बोल्नु भनेको योभन्दा कठोर सजाय भोग्नुपर्छ भन्ने पार्न खोजिएको छ तर पनि समयको कुरा हो, ओलीका विरुद्ध भित्रैबाट विद्रोह पनि हुन सक्छ, नभए ओली एमाले खिरिलो हुँदै सकिँदै जाने नै हो ।’
अध्यक्ष ओलीले एमालेभित्र उत्कर्षमा पुर्याएको विभाजन र विसर्जनको यात्रासम्बन्धी यो खबर बिनु सुवेदीको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।