प्रधानमन्त्री खड्ग ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ नै केन्द्रित भएको देखिएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले भने प्रतिनिधिसभाको अहिलेको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी संसद् सचिवालयमा दर्ता गर्ने संकेत पाएपछि प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन् । यसै क्रममा प्रधानमन्त्री ओलीले आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने शनिबार बताएका छन् ।
प्रधानमन्त्रीको यस्तो भनाइपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गर्ने तयारी गरेको छ । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन’– समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य एवं सांसद पम्फा भुसालले भनिन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओलीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय लिएपछि ओली निकै आक्रोशित बनेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।