newskoseli.Com

ओली सरकार फेर्न देउवाभन्दा पौडेल बढी सक्रिय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने अंकगणितको जोडघटाउमा लागेको छ । सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फको छलफललाई कांग्रेसले अनौपचारिक रूपमा अघि बढाएको हो ।

२० चैतमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमार्फत प्रधानमन्त्री खड्ग ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ । यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट रूपमा मुख खोलिसकेका छैनन् । तर, देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार गठनका विषयमा शनिबार अनौपचारिक संवाद भने भएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सरकार गठनका लागि संसदमा रहेका दलहरूसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन् । पौडेलले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेट गरे । सो भेटमा नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न पौडेलले ठाकुरसँग आग्रह गरे ।

सो भेटमा जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्त रूपमा समाधान खोज्दै अघि बढ्न समेत पौडेलले ठाकुरलाई प्रस्ताव गरे । पौडेलको सो प्रस्तावपछि जवाफमा ठाकुरले भने आफ्नो दलले राखेका माग सम्बोधन गर्ने समूहलाई नै साथ दिने जवाफ दिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक पर्छ । त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने वातावरण भने बन्नैपर्ने खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर