वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा भने अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई ‘फकाउने’ प्रयास गरिरहेका छन् ।
जसपाभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई भने विनासर्त ओलीको विकल्प खोज्न तयार छन् । कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय लिएको दुई दिनपछि वरिष्ठ नेता पौडेलले जसपा अध्यक्ष ठाकुरसँग आइतबार उनकै निवासमा गएर कुराकानी गरेका थिए ।
स्रोतका अनुसार सरकार निर्माणका सन्दर्भमा ठाकुरले पुरानै कुरा दोहोर्याएका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको निर्णयप्रति नै ठाकुरले ‘चित्त दुखाए’ । जसपाले समेत नेतृत्व दाबी गरिरहेका बेला कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने भनी गरेको निर्णयले वातावरण बिथोलिएको भनाइ ठाकुरले राखेका थिए । पौडेलले भने त्यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै समझदारीमा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकिने बताएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।