प्रधानमन्त्री खड्ग ओलीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतारचढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला ? तर, गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्– राष्ट्रपति त ‘प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको’ ठहरमा छिन् ।
राष्ट्रपतिको बुझाइअनुसार ‘भन्न त ओलीलाई दक्षिण निकट भनिन्छ तर खासमा चाहिँ माधवकुमार नेपाल र उनको समूहका नेताहरू भारतबाट गाइडेड हुन् । तर, उनी पनि सरकार अप्ठ्यारोमा छ भन्ने निश्कर्षमा पुगेकी छन् । उनले प्रचण्ड, कांग्रेस र जसपाको धारणामा समानता (सरकार हटाउने सहमति) जुट्न गाह्रो छ भन्ने बुझेकी छन् भने राप्रपाको कमल थापा समूहप्रति पनि सकारात्मक छिन् तर पशुपतिसमशेर र प्रकाशचन्द्र लोहनीप्रति थोपै विश्वास छैन । उनले अनुमान गरेकी छन्, मधेसी र शेरबहादुरबीच निकटता बढ्न गाह्रो छ ।
कांग्रेससँग मधेशी मिल्दा त्यहाँ एमालेलाई क्षति हुने उनको बुझाइ छ । र, भन्ने गर्छिन्– ‘पुस ५ को संसद विघटनपछि पार्टी फुटाउने काममा भारतीयहरू सफल भए ।’ र, प्रधानमन्त्री खड्ग ओलीले गल्ती गरेको भन्ने कुरा उनलाई लागेकै छैन । राष्ट्रपति विद्या भण्डारीको आन्तरिक बुझाइसम्बन्धीको यो खुलासा बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।