newskoseli.Com

ओली ढाल्ने प्रस्तावमा महन्थ असहमत : के–के भयो बुढानिलकण्ठ बैठकमा ?

खड्ग ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग नेपाली कांग्रेसले प्रस्ताव राखेको छ । सो प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले भने सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक विनानिष्कर्ष टुंगियो ।

नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो । बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउन प्रस्ताव राखेका थिए । कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेबमोजिम देउवाले औपचारिक रूपमा माओवादी केन्द्र र जसपाका नेताहरूसँग छलफल गरेका हुन् ।

लोकतान्त्रिक र निष्पक्ष चुनाव गराउन ओली नेतृत्वको सरकार ढालेर नयाँ बनाउनुपर्ने धारणा देउवाले राखेको स्रोतले बतायो । देउवाले राखेको पार्टीको धारणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो । तर, जसपा अध्यक्ष महन्थ ठाकुरले भने ओली सरकार ढाल्ने प्रस्तावमा सहमति जनाएनन् ।

ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो– ‘अहिले हाम्रो चासो पार्टीका माग पूरा गराउनेमा मात्र केन्द्रित छ, सरकारले हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ । यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन ।’ ओली सरकार ढालेर नयाँ निर्माण गर्ने विषयमा आफ्नो पार्टीभित्र छलफल नभएको पनि ठाकुरले बताएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर