चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।
सरकारलाई दिइएको समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने गरी फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ । जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका खड्ग ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन यसअघि नै फिर्ता लिइएको घोषणा गरे पनि गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन ।
यद्यपि, गण्डकीमा ओलीका समर्थक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढल्ने वा नढल्ने भन्ने विषयमा टीकाटिप्पणी सुरु भइसकेको थियो । गण्डकीमा हाल एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ । २५ चैतमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएपछि सरकार धरापमा परेको थियो ।
यद्यपि सरकारलाई दिइएको समर्थन माओवादी केन्द्रले भने फिर्ता लिइसकेको छैन । समर्थन फिर्ता नलिए पनि नयाँ सरकारका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको साथ खोजिरहेको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।
जनमोर्चाले यो वैकल्पिक गठबन्धनलाई नै साथ दिने जनाएको छ । र, मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार नै अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । अब गण्डकी प्रदेशबाट नै ओली शासन पतनको सुरुआत भैसकेको ‘प्रतिगमनविरुद्ध आन्दोलनरत’ पक्षहरुले दावी गरेका छन् ।