आफूहरूले खड्ग ओली नेतृत्वको सरकारको विरोध गर्नुपर्ने कारण नभएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले भने आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन् ।
‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ,’ प्रधानमन्त्री ओलीसँग भेटेपछि अध्यक्ष ठाकुरले भने– ‘यही विषयमा छलफल गर्न बिहीबार भेट भएको हो ।’ कुन प्रक्रियाबाट र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए । आफू वर्तमान सरकारको विरोधमा नभएको प्रस्ट पार्दै ठाकुरले भने– ‘म यो सरकारको विरोधमा छैन ।’
प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच पछिल्लो समय नियमितजसो भेटवार्ता भइरहेको जसपा कार्यकारिणी समितिका सदस्य केशव झाले बताए । जसपाका माग सम्बोधन गर्ने विषयमा छलफल गर्न भेट हुने गरेको उनको भनाइ छ । जसपाका मागमध्ये मुद्दा खारेज गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ । यसैगरी, सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने प्रक्रिया समेत सरकारले अघि बढाएको छ ।
सरकार–जसपा कार्यदलको बैठक पनि बिहीबार अपराह्न बस्यो । कार्यदलमा विष्णु पौडेल, सुवास नेम्बाङ, राजन भट्टराई, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् । शुक्ल र कर्ण दुवैै ठाकुर निकट मानिन्छन् । जसपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्रीले संयुक्त कार्यदल बनाएका हुन् ।
मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, नागरिकता विधेयक पास गर्न, रेशम चौधरी रिहा हुने वातावरण बनाउन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संविधान संशोधन गर्न जसपाले माग गरेको छ । जसपाका मागप्रति सरकार पूर्ण सकारात्मक रहेको एक नेताले बताए । मुद्दा खारेज गर्न जसपाले अघिल्लो साता २१० जनाको नाम गृहमन्त्रालयमा बुझाइसकेको छ । मन्त्रिपरिषद्ले मुद्दा फिर्तासम्बन्धी निर्देशिका पनि पास गरेको छ ।
अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिँदै गएपछि जसपाभित्र दुई लाइन देखिएको छ । एउटा लाइनको नेतृत्व ठाकुर र अर्को लाइनको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई भने कुनै पनि हालतमा ओलीसँग सहकार्य गर्नु नहुने पक्षमा रहेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।