शुक्रबार दिउँसो २ बजे । संसद् (प्रदेशसभा) को बैठक सुरु हुँदै थियो । प्रदेशसभा परिसरमै रहेको एमाले संसदीय दलको कार्यालयमा १९ जना सांसद ‘एकमत’ थिए ।
‘सन्चो नभएको’ भन्दै प्रकाश ज्वाला खासै बोलेनन् । कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतको विपक्षमा डटेर लाग्ने ‘प्रतिबद्धता’ सहित भाषण गरे । ‘यसले गर्दा विश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क थियौं, तर त्यो सब नाटक रहेछ,’ ओली समूहका सांसद सुशील थापाले भने– ‘संसद्मा अपत्यारिलो तरिकाले फ्लोर क्रस गरेपछि हामी छक्क पर्यौं ।’
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको प्रस्ताव पेस गरेपछि एमालेका तर्फबाट करवीर शाहीले बोलेका थिए । शाहीमाथि पनि ‘फ्लोर क्रस’ गर्ने शंका थियो । अपेक्षा गरेभन्दा फरक धारणा उनले राखेपछि एमाले ‘एकमत’ भएको सन्देश प्रवाह भएको थियो ।
संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ गर्ने अभ्यासलाई सामान्य मानिए पनि यसलाई सम्बन्धित दलको विधानले नियमन गर्ने संविधानविद् भीमार्जुन आचार्य बताउँछन् । ‘संसारमा सांसदलाई खुला र सीमित प्रतिनिधि मान्ने दुईवटा अवधारणा छन्, सीमित अवधारणाले फ्लोर क्रसलाई निषेध गरेको छ,’ उनले भने– ‘खुला अवधारणाले भने यसलाई सामान्य रूपमा लिने गर्छ ।’
कर्णाली प्रदेशमा एमालेभित्र देखिएको दुई धारसम्बन्धी यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।