जनता कोरोना महामारीले आक्रान्त भइरहँदा लुम्बिनी प्रदेशमा भने राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ । बिहान १० बजे एकाएक प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो ३ नबज्दै फेरि मुख्यमन्त्रीमा नियुक्ति पाए । अल्पमतमा परेका पोखरेलले कानुनविदहरूको चर्को आलोचना, प्रदेश सांसदको धर्ना र झडपका बाबजुद राति साढे ८ बजेपछि आफ्नै कार्यालयमा सपथ पनि खाए ।
पोखरेललाई पद तथा गोपनीयताको सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नै कार्यालय परिसरमा धर्ना बसेका विपक्षी सांसदको घेरा तोडेर मुख्यमन्त्री कार्यालय पुगेका थिए । एमालेबाहेक सबै दलका सांसद संविधानविपरीत भएको निर्णय बदरको माग गर्दै दिउँसोदेखि नै मुख्यमन्त्रीको नियुक्ति रोक्न र सपथ कार्यक्रम हुन नदिन प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्नामा थिए ।
मुख्यमन्त्रीको कार्यालयबाट प्रदेश प्रमुख निस्कँदा विपक्षी सांसदले रोक्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्यो । सांसदका अनुसार लुम्बिनी प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले महिला सांसदलाई लछारपछार गरे । निर्मला क्षेत्री, लौटी थारु, शुष्मा यादव, गीता थापा, पुष्पा चौधरी, तारा जिसीलगायतका महिला सांसदलाई डीआईजीसहित प्रहरी अधिकारीले लछारपछार गरेर घाइते बनाएको माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।
शान्तिपूर्ण रुपमा धर्नामा बसेका बेला डीआईजी धानुकले महिला सांसदलाई लछारपछार गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले बताइन् । महिला प्रहरी पठाउन आग्रह गर्दागर्दै डीआईजी धानुकले आफूमाथि एक्कासि हातपात गरेको सांंसद क्षेत्रीको भनाइ छ ।
माओवादी केन्द्रका २ र जसपाका ४ सांसद कारबाहीमा परेपछि सांसद संख्या ८१ रहेको लुम्बिनीमा बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छन् । सोही अनुरुप एमालेले ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाए पनि हस्ताक्षर गरेका ४ जनाले भने पोखरेलले मुख्यमन्त्रीको सपथ खाँदासम्म उनको साथ छाडिसकेका छन् । तीनजना विपक्षी गठबन्धनमा गएका छन् भने एकजनाले पदबाटै राजीनामा दिएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।