newskoseli.Com

‘प्रधानमन्त्री बन्ने मन छैन होला त मलाई’ : देउवा–प्रचण्डबीचको रोचक संवाद

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ आधा घन्टा कुराकानी भयो । प्रचण्डले देउवालाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले भने अझै पनि संख्या नपुगेको बताए ।

‘कस्तो कुरा गर्नुहुन्छ तपाईं ? मलाई प्रधानमन्त्री बन्न मन नभएको हो र ?’ देउवाले प्रचण्डसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो– ‘खोई संख्या ?’ जवाफमा प्रचण्डले एमालेकै माधव नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तिमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेस गरे । देउवाले भने नेपालपक्षीय सांसदहरूले राजीनामा दिन्छन् भन्ने विश्वास आफूलाई नलागेको बताए ।

‘उहाँहरूको विश्वास हुनुपर्यो, मैले अविश्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ ?’ देउवाले प्रचण्डसँग सोधे । यही प्रश्न बिहीबार एमाले नेता नेपालसँग पनि देउवाले सोधेका थिए ।

अविश्वासको प्रस्ताव ल्याउँदा जसरी पनि बहुमत पुग्छ भनेर विश्वास दिलाउन पुगेका नेपाललाई देउवाले तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वासको प्रस्ताव ल्याइहाल्छु भन्ने जवाफ दिएका थिए । देउवालाई ‘ढुक्क हुनोस्’ भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरे ।

बिहीबार साँझदेखि शुक्रबार साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण पनि तत्कालै अविश्वासको प्रस्ताव ल्याइनहालौं भन्ने प्रस्ताव देउवाले प्रचण्डसँग गरेको उनीनिकट एक नेताले बताए । ‘अहिले एमाले नै अनिर्णीत छ, उहाँहरू के निर्णय गर्नुहुन्छ, त्यो कुरौं त्यसपछि हेरौंला’– देउवा र प्रचण्डबीच भएको संवाद उद्धृत गर्दै प्रचण्डनिकट स्रोतले बताएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर