newskoseli.Com

‘शंकाको घेरामा’ ओली : खनाल–नेपाल पक्षीय नेताहरू सशंकित

सत्तारूढ नेकपा (एमाले) को आन्तरिक विवाद सुल्झाउने क्रममा अध्यक्ष खड्ग ओली ‘इमानदार हुनेमा’ वरिष्ठ नेता माधवकुमार नेपालले आशंका गर्न थालेका छन् । एमालेको पुरानो संरचना ब्युँताएर पार्टीलाई २ जेठ, २०७५ को अवस्थामा फर्काउने प्रतिबद्धताप्रति अध्यक्ष ओली इमानदार हुनेमा वरिष्ठ नेता नेपाल पक्षले आशंका गर्न थालेको छ ।

ओलीले २७ वैशाखमा विश्वासको प्राप्त नगरेपछि उनी नेतृत्वको सरकार ढलेको थियो । संसदमा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकारले सदनको विश्वास गुमाएको थियो । दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दएिको ३ दिनको समयमा नयाँ सरकार बन्न नसक्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ ।

यही बीचमा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन नेपालसँग ३० वैशाखको साँझ चार घन्टा छलफल गरेका थिए । सो छलफलमा ओलीले एमालेको पुरानो संरचनामा फर्कने र २८ फागुन तथा त्यसपछि गरेका एकलौटी निर्णयलाई खारेज गर्दै कार्यदल बनाएर विवाद निरूपण गर्ने प्रस्ताव गरेपछि बैठक सकारात्मक माहोलसँगै टुंगिएको थियो ।

सोही संवादको निरन्तरतास्वरूप ३१ वैशाखमा दुवै पक्षका नेताहरूबीच सिंहदरबारमा तीन घन्टा छलफल भएको थियो । छलफलमा ओली पक्षले गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई पनि सहभागी गराएपछि नेपाल पक्षले ओलीको इमानदारितामाथि आशंका गरेको थियो । ओलीले रामबहादुर थापालाई शुक्रबारको बैठकमा सहभागी गराएको विषयमा नेपाल पक्षका केन्द्रीय सदस्यहरूले शनिबार भएको उक्त पक्षको बैठकमा नेपालसँग आपत्ति जनाएका छन् । पार्टीभित्र आफूहरुलाई जसरी पनि पेल्ने नीति ओलीले लिएको बताउँदै सचेत रहन केन्द्रीय सदस्यहरुले नेपालसाग आग्रह गरेका थिए । थापालाई सहभागी गराएर २ जेठ, २०७५ मा फर्कन ओलीले अस्वीकार गरिसकेको सन्देश दिएको उनीहरूले जनाएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि २ जेठ, २०७५ मा फर्कन नसकिने बताइरहेका छन् । त्यसैबेला बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठकले ओली आफूले नै सरकार बनाउने चालबाजीमा मात्र लागेको र अल्मल्याउँदै जाने रणनीति लिएको प्रष्ट हुने बताएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर