newskoseli.Com

ठाकुर–महतो समूहभित्रै तीव्र असन्तुष्टि !

संसदभित्रै अल्पमत पुष्टि भएर अपदस्थ भैसकेको खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) बाट निष्काशित महन्थ ठाकुर–राजेन्द्र महतो समूहभित्र अहिले चरम असन्तुष्टि बढेको छ ।

पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्षमण्डलका ६ सदस्यमध्येका एक राजकिशोर यादव सरकारमा जान पाएनन् । अध्यक्षमण्डलकै अर्का सदस्य महेन्द्र यादव भने कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । अध्यक्ष ठाकुर पनि आफू सरकारमा नजाने निर्णय गरे; बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा मात्र सरकारमा सामेल भए ।

यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्येका एक राजकिशोरले सरकारमा जाने इच्छा व्यक्त गर्दागर्दै पनि मौका पाएनन् । सरकारमा जान नपाएपछि उनी निकै रुष्ट बनेको स्रोतको भनाइ छ । तथापि राजकिशोर निकट जसपाका केन्द्रीय सदस्य राहुल यादवले भने तत्काल सरकारमा जाने चाहना उनले नदेखाएको बताए ।

‘सर्वोच्च अदालतको निर्णयपछि सरकारमा जाऔं भन्ने उहाँ (राजकिशोर यादव) को अडान थियो तर महतोलगायतले मान्नुभएन,’ राहुलले भने– ‘त्यसैले उहाँ आफ्नै खुसीले सरकारमा नजानुभएको हो ।’ स्रोतका अनुसार ठाकुर–महतो पक्ष सरकारमा गएपछि राजकिशोर उनीहरुको सम्पर्कमा छैनन् र सार्वजनिक रूपमा समेत उनले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् ।

सरकारमा सहभागी भएको भोलिपल्टै पूर्वराजपाको कार्यालय बबरमहलमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा पनि राजकिशोर उपस्थित भएनन् । उक्त कार्यक्रममा ठाकुर–महतो पक्षका अरू शीर्ष नेता भने सबै उपस्थित भएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर