एमालेमा ‘२०७५ जेठ २ मा फर्कने’ विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा जुटेका संस्थापन र माधव नेपाल पक्षका नेताहरूबीच भएको निरन्तर संवाद ‘सहमति नजिक’ पुगेको हो ।
सबै संरचना २०७५ जेठ २ मा जाने विषयमा मौखिक सहमति जुटेको नेपालपक्षीय नेता भीम आचार्यले बताए । ‘कुनै धाँधली भएन भने अब पार्टी विभाजनबाट जोगिन्छ होला,’ उनले भने– ‘यसलाई मिल्ने भाषामा कसरी लिपिबद्ध गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’
सहमति टिक्ने–नटिक्ने कुरा अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीको इमानदारितामा निर्भर रहने उनले बताए । सर्त राख्ने कुराले पनि निश्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी उनले दिए । सर्वोच्चको मुद्दा, २०७५ जेठ ३ मा थपिएका ३८ केन्द्रीय सदस्य र २०७७ फागुन २८ मा थपिएका माओवादी केन्द्रबाट आएका २३ नेताको विषयबारे सहमति जुट्न बाँकी छ ।
२०७५ जेठ २ सम्म एमालेमा २ सय ३ जना केन्द्रीय सदस्य थिए । एमाले र माओवादी केन्द्रबीच एकीकरणमा २ सय ४१ जना पुर्याउन जेठ ३ मा केन्द्रीय सदस्य थपिएका थिए । त्यसमा माओवादीका २ सय समेत गरी कूल ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।
एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएपछि अध्यक्ष ओलीले २०७७ फागुन २८ मा रामबहादुर थापा ‘बादल’ सहित २३ जना थपेर २ सय ६४ सदस्यीय केन्द्रीय समिति पुर्याएका थिए । सोही दिन अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएका थिए ।
अदालतको मुद्दा फिर्ता हुन भने गाह्रो रहेको आचार्यले बताए । तर, ओली पक्षको मुख्य अडान भने यसमै छ । ओलीद्वारा ‘विघटित’ प्रतिनिधिसभाको पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दिइएको रिटमा नेपाल पक्षका २३ जना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेका छन् । अदालतमामै पुगेर उनीहरूले सनाखत गरेका हुन् ।
संस्थापन पक्षका नेता सुवास नेम्बाङले भने छलफल निरन्तर जारी रहेको बताए । ‘हामी निरन्तर संवादमा छौं, निश्कर्षमा पुगिसकेका छैनौं,’ उनले भने– ‘निष्कर्षमा पुर्याउनुपर्छ भनेर लागिरहेका छौं ।’ स्रोतका अनुसार संवादलाई निष्कर्षमा पुर्याएर केही दिनभित्रै संयुक्त बैठक आयोजना गर्ने तयारी भइरहेको छ ।
संस्थापन पक्षका नेम्बाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षका आचार्यसहित सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई एकताका निम्ति संवाद गरिरहेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।