‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका वासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् ।
सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन । तर, उखानले भनेझैं यसपटक नपत्याउने खोलाले सिंगो वस्ती नै बगायो । बाढीले संयोगवश मानवीय क्षति नगरे पनि भौतिक नोक्सानी भने निकै ठूलो पुर्याएको छ ।
बाढीले तटीय क्षेत्रका धेरै वासिन्दाको उठिबास लगाइदिएको छ । भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन । बाढीको कहर अझै कम भइसकेको छैन । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्– ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन । तर, नसोचेको अवस्था आयो । बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ ।’
उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो । कतिपय ठाउँमा झोलुंगे त कतै–कतै काठे पुलबाट वारपार गर्ने चलन थियो । तर, अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको छ । ‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने– ‘यस पटक भने नपत्याएको खोलाले बगाएको छ । चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन् । खोला किनारका वस्तीबारे सोच्ने बेला भएको छ ।’
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले निकै ठूलो धनजनको क्षति पुर्याएको भोलिपल्टै मनाङबाट आएको अर्को हृदयविदारक घटनासम्बन्धी यो खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।