रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापासहित एमाले प्रवेश गरेका पूर्वमाओवादीहरु खड्ग ओलीसँग ‘नपाइने कुरा’ माग्दै दिन बिताइरहेका छन् । उनीहरुको माग छ– ‘पार्टीको नाम एमाले नै राख्ने कुराले हाम्रा साथीहरुमा अलिक समस्या आयो, यसलाई फेरौं !’
केही दिनअघि ओलीसँगको भेटमा टोपबहादुरले त भने पनि– ‘हामीले देशलाई प्रचण्डमुक्त बनाउन चाहेका हौं, त्यसैले सानातिना कुरामा नअल्मलिऔं ।’ रायमाझीसँग ओलीले सोधे– ‘के–के हन् त सानातिना कुरा ?’ लगत्तै प्रभु साहले भने– ‘नाम मिलाउने, जबजलाई हिजो एकतामा जाँदा भनिएजस्तो जनताको जनवाद भन्ने… ।’ यति कुरा सुनेपछि खड्गप्रसाद मज्जाले हाँसे र भने– ‘हामीले एमाले र जबज छाड्ने ? हामीले छाडेपछि त माधव नेपालले लगिहाल्छ नि, यस्तो हुँदैन, नो चान्स… !’
यति कुरा सिध्याएर बालुवाटारबाट निस्कँदा पूर्वमाओवादीहरु भन्दै थिए– ‘डुबायो–डुबायो… !’ यसपछि उनीहरुबीच एमालेमा रहन गाह्रो हुन्छ कि भन्ने कुरा आयो । हिजो भीम रावलको विकल्प लेखराज भट्ट र माधवको ठाउँमा प्रभु साह भन्दै कानमा चिनी हालियो । अहिले बादलहरुसँग कति जनाले माओवादी छाडेर आउँछन् भनेर हिसाब निकालिँदै छ ।
त्यसपछि शनिबार बिहान नयाँबानेश्वरस्थित होटल एभरेस्टको सातौं तलामा जम्मा भएर राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने आफूपक्षीय कार्यकर्ताको नाम लेख्न थालियो । केन्द्रीय सल्लाहकार, प्रदेश कमिटी र विभागहरुका लागि पनि नाम सिफारिस गर्न भनेर उनीहरु जुटे । त्यहाँबाट फेरि दिउँसो जावलाखेलमा एकछिन जमघट भएर दिउँसो ३ बजे महासचिव ईश्वर पोखरेललाई भेट्न थापाथली हाइटतिर हान्निए ।
उनीहरुले बुझाएकामध्ये केन्द्रीय प्रतिनिधि परिषदका नामहरु फाइनल भए । केन्द्रीय कमिटीमा भएका सबै पर्ने भए । उनीहरुसँग एमाले बनेकामध्ये करिव १० प्रतिशत प्रचण्डतिरै फर्किएका छन् । सुदूरपश्चिमबाट ओमविक्रम भाट ‘सरल’, सुर्खेतबाट जनसांस्कृतिक महासंघको पूर्वअध्यक्ष समेत रहेका गणेश भण्डारीहरु फर्कन तयार छन् । प्रदेश– २ मा धेरै मान्छे फर्कने भए भन्दै प्रभु साह बिलौना गर्दैछन् ।
तर, अहिले एमालेमा समेट्नुपर्ने भनिएकामा उनै प्रभुको सूची सबभन्दा ठूलो छ । उनले राष्ट्रिय प्रतिनिधि परिषदका लागि दुई सयभन्दा बढीको नाम बुझाएका छन् । सबै गरेर पूर्वमाओवादीले पाँच सय साठी जनाको नाम बुझाएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।