कानुन र नीति–नियम बनाउन भूमिका निर्वाह गर्नुपर्ने प्रदेश– २ का सांसद बजेटकेन्द्रित भएका छन् । यससँगै उनीहरू सांसदभन्दा ठेकेदारको भूमिकामा बढी देखिन थालेका छन् ।
एकातर्फ मन्त्रीहरूले आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट लगी कार्यकर्ता वा नातेदारमार्फत काम गराएर सकाउने गरेका छन्, अर्कातर्फ सांसदहरू मन्त्रीसँग नजिकिएका आधारमा योजना लिई मनमौजीरूपमा काम गराउने थुप्रै उदाहरण छन् । चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधार विकासका लागि छुट्याइएको ८० करोड ९६ लाख रुपैयाँमध्ये उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले सबैभन्दा बढी २८ करोड ५१ लाखका १ सय १३ योजना गृहजिल्ला सर्लाहीमा लगे । यो बजेट बारा, पर्सा र सप्तरी जिल्लालाई छुट्याइएको बजेटभन्दा पाँच गुणा बढी हो ।
रायले निर्वाचनलाई लक्ष्य गरी नेता–कार्यकर्ता खुसी पार्न अधिकांश २० लाखका टुक्रे काम उपभोक्ता समितिमार्फत गराएका छन् । प्रदेशमा कोरोना महामारीले गर्दा व्याप्त बेरोजगारी वा शिक्षा, स्वास्थ्य सुधारभन्दा पुँजीगत विकासको रकम अनुत्पादक क्षेत्रमा खर्च गरिएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।