newskoseli.Com

के गर्न खोज्दैछन् एमालेहरू ? ‘लडाकु दस्ता’ बनाउन सबै गुटबीच होडबाजी !

एमाले अध्यक्ष खड्ग ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘युथ फोर्स’ नामक ‘लडाकु दस्ता’ ब्युँताएको घोषणा गर्‍यो । असार २८ को सर्वोच्चको आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय ‘युथफोर्स’ कमान्ड घोषणा गरियो ।

क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि ‘युथफोर्स’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बालकोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित ‘स्कर्टिङ’ गर्‍यो । त्यसको नेतृत्व ‘युथफोर्स’ का पूर्व ‘कमान्डर’ महेश बस्नेतले गरेका थिए ।

पार्टीभित्र तीव्र विवाद चर्किरहेकै बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीले पनि असार २९ मा तपेन्द्रजंग शाहीको नेतृत्वमा ‘अखिल फोर्स’ गठन गरे । ‘ओली समूहलाई काउन्टर दिन अखिल फोर्स गठन गरेका हौं,’ घोषणासभामा नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने– ‘अब देशभरका क्याम्पस र जिल्लाहरूमा गठन गरेर अघि बढ्छौं ।’

ओली पक्षको ‘युथफोर्स’ लाई काउन्टर दिनै नेपाल पक्षले बिहीबार अर्को दस्ता ‘पिपुल्स भोलेन्टियर ९पीभी०’ को समेत पुनर्गठन गरेको छ । १२ वर्षअघि विघटन गरिएको ‘पिपुल्स भोलेन्टियर’ अहिले १ हजार १ सदस्यीय बनाइएको छ । ओली पक्षतर्फकै पूर्वमाओवादी नेताहरूले समेत लडाकु दस्ताकै रूपमा ‘आईटी आर्मी’ घोषणा गरिसकेका छन् । त्यसको नेतृत्व चन्द्रभूषण साहले गरेका छन् ।

प्रभु साह, टोपबहादुर रायमाझीलगायतको पहलमा ‘आईटी आर्मी’ बनाइएको हो । यसअघि नै महेश बस्नेतहरुले नै तत्कालीन ओली सरकारकै ‘ब्याकिङ’ मा ‘साइबर सेना’ समेत बनाइसकेका छन् । उक्त डफ्फा एमालेभित्रै ‘साइबर स्याल’ का नाममा बदनाम छ ।

एमालेमा एकातिर ‘पार्टी एकताको पहल’ भइरहेको छ भने अर्कातर्फ दुवै पक्षले भटाभट ‘लडाकु दस्ता’ गठन गरिरहेका छन् । पार्टीमा युवा र विद्यार्थीका वैधानिक र जनवर्गीय संगठन हुँदाहँंदै सैन्य संरचनाका लडाकु दस्ता निर्माण गर्दै जानुले एमालेका नेताहरू भिडन्ततर्फ अग्रसर भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

प्राध्यापक डा. लोकराज बराल एकले अर्कालाई ‘शक्ति देखाउन’ र ‘तर्साउन’ युवा–विद्यार्थीका दस्ता गठन गर्दै लगेको ठान्छन् । ‘अहिले नै एमाले एकता हुन्छ जस्तो लाग्दैन,’ डा. बराल भन्छन्– ‘ओलीको इगो झर्दैछ भने माधव नेपाल ओलीको नाडी छाम्दैछन् ।’

एमालेका सबै गुटले धमाधम ‘लडाकु’ संरचना बनाइरहेको र अर्कातिर एकताको असफल प्रयास समेत भइरहेकोसम्बन्धी यो खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर