newskoseli.Com

एमाले फुट्न कति चाहिन्छ संख्या ? जुट्नेतिर कि फुट्नेतिर चल्दैछ ‘गृहकार्य’ ?

एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने । भनिन्छ, यदि यस्तो भयो भने माधव नेपाल एकताका निम्ति सहमत हुनेछन् ।

तर, यसो भएन भने विभाजनभन्दा अर्को बाटो छैन । तर, जनता समाजवादी पार्टीका हकमा भर्खरै निर्वाचन आयोगले अबलम्बन गरेको आधिकारिकताको शैलीबाट एमाले विभाजन सम्भव छैन । जसपाको केन्द्रीय कार्यकारिणी समितिभित्र बहुमत र अल्पमत छुट्याउनका निम्ति टाउको गन्ती गरियो । तर, एमालेमा त्यसो गरेर पार लाग्ने अवस्था छैन ।

०७५ जेठ २ का केन्द्रीय सदस्यमध्येबाट ४० प्रतिशत सदस्यले हस्ताक्षर बुझाउँदा विद्यमान कानुनी व्यवस्थाअनुसार एमाले विभाजित हुन सक्छ । यदि अर्को पक्षले टाउको गन्तीका माध्यमबाट बहुमत–अल्पमत परीक्षणको माग गर्‍यो भने बहुमत नपुग्ने समूहलाई अर्को राजनीतिक दल बनाउने बाटो पनि खुल्छ ।

अहिले जसपाको सन्दर्भमा भएको निर्णयशैली पुस ५ पछि विकसित राजनीतिक परिदृश्यमा तत्कालीन नेकपासँग मिल्न सक्थ्यो । किनभने, एउटा अध्यक्षले अर्को अध्यक्षलाई कारवाही गरेका पत्रहरू आयोगमा पुगेका थिए र त महासचिवले नबोलाएको बैठक वैधानिक नहुने नाममा आयोगले ओलीमाथि प्रचण्डको कारबाहीलाई मान्यता दिन आनाकानी गर्‍यो ।

अहिले जसपाको जसरी त्यसैबेला टाउको गन्ती गरिएको भए प्रचण्ड–माधव पक्षको बहुमत पुग्थ्यो । तर, त्यसबेला खड्ग ओलीका निम्ति प्रतिकूल हुने काम निर्वाचन आयोगले किन पो गर्थ्यो र ! त्यहाँ ढिलो गर्दागर्दै फागुन २३ मा अदालतको फैसला आयो, सबै ठण्डाराम भए ।

एमालेका सन्दर्भमा भने ४० प्रतिशतको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइसकिएको छ । तर, त्यो अलिक पहिलेकै प्रकरण हो । नवौं महाधिवेशनबाट निर्वाचित २ सय ३ सदस्यीय केन्द्रीय कमिटीको ४० प्रतिशत भनेको ८२ जना हुन्छ । राजेन्द्र पाण्डे, बेदुराम भुसालहरूले ८८ जनाको हस्ताक्षर आयोगमा बुझाएका छन् ।

तर, अहिले माधव समूहमा देखा परेका ‘एकतावादी’ हरू विभाजनको यस्तो हस्ताक्षर फिर्ता लिने स्थितिमा पुग्ने कारण त्यो विधिबाट पनि एमाले विभाजनको सम्भावना न्यून छ । त्यसैले महन्थ ठाकुरहरूलाई संसदमा जोगाउन सकिने, एमाले पनि फुटाउन सकिने गरी सरकारले कुनै अध्यादेश ल्याइदियो भने मात्रै सहज हुने स्थिति छ ।

स्रोतका अनुसार, माधव समूह अहिले यही विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहितका कानुन व्यवसायीहरूसँग सल्लाह गरिरहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर