newskoseli.Com

ओली भेट्न नेपालको आनाकानी : १० बुँदे ‘सहमति’ छलछाम मात्रै !

एमाले अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल भने अझै पनि अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् ।

अध्यक्ष ओलीले भने वरिष्ठ नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न आफू तयार रहेको बताइसकेका छन् । ओलीसँगको भेटअघि ‘संस्थापन’ पक्षका दोस्रो तहका नेताहरू सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने नेपालले बताएका थिए । त्यही बमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिव डेढ घन्टा भेटवार्ता भएको छ ।

नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने बताइएको छ । दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आफूले आग्रह गरेको जानकारी नेम्बाङले दिए । ‘तपाईं (वरिष्ठ नेता नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस्, त्यसपछि एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’– विघटित कार्यदलमा ‘संस्थापन’ पक्षका संयोजक समेत रहेका नेम्बाङले भने ।

नेम्बाङको आग्रहमा नेपालले ‘ठीकै छ’ भनेर जवाफ दिएको जनाइएको छ । ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि नेम्बाङले आग्रह गरेका थिए । ‘१० बुँदे सहमति गरेका छौं, यसलाई टुंगोमा पुर्‍याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’– नेम्बाङले नेपाललाई भनेका थिए ।

नेम्बाङसँगको भेटमा पनि नेपालले १० बुँदे सहमति स्पष्ट नबताएको बताएका थिए । ‘कार्यदलले मकहाँ दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले दिएको स्रोतले बतायो । सत्तारुढ गठबन्धनमा नेपाल पक्षको सहभागिताका विषयमा नेम्बाङले प्रश्न गर्दा पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए ।

‘तपाईंले गठबन्धनमा हामी छैनौं भन्नुभएको थियो तर पछिल्लो समय गठबन्धनको बैठकमा तपाईंका प्रतिनिधि गएको देखिन्छ, किन जानुभएको ?’ नेम्बाङको प्रश्न थियो । नेपालले भने नेम्बाङलाई कथा हालेर जवाफ दिएको बताइएको छ । पार्टीमा यो अवस्था आउनुको लामो र गहिरो कारण रहेको नेपालको भनाइ रहेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर