newskoseli.Com

मन्त्रालय भागवण्डा : दलहरूबीच सहमति, आ–आफ्नैभित्र तानातान, को–को बन्दैछन् मन्त्री ?

खड्ग ओली नेतृत्वको प्रतिगमनकारी सरकारलाई अपदस्थ गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । वरिष्ठ एमाले नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका बाँकी तीन दल– कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको हो ।

सरकारको नेतृत्व गरेको कांग्रेसले ८ तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७–७ वटा मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालय भागवण्डामा कुरा मिलेसँगै तीन दलका शीर्ष नेताहरु आ–आफ्नो दलका तर्फबाट मन्त्री छनोट गर्न जुटेका छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि गठबन्धनमा आबद्ध दलहरुलाई मन्त्री छनोट गर्न निकै सकस परिरहेको छ ।

बिहीबार बसेको गठबन्धनको बैठकमा नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जसपाबीच मन्त्रिमण्डल गठन गर्ने समझदारी भएको हो । कुन–कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको जानकारी बैठकमा सहभागी एक नेताले दिएका छन् । उनका अनुसार मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नै मन्त्रालयका बारेमा जानकारी दिने सहमति तीन दलबीच भएकाले क–कसले कुन–कुन मन्त्रालय चलाउने भन्नेबारे पहिल्यै सार्वजनिक गरिएको छैन ।

मन्त्री छनोट गर्न कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल थालेका छन् । मन्त्री छनोटको विषयमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरिरहेका छन् । यता माओवादी केन्द्र र जसपाले पनि आ–आफ्नै पार्टीभित्र मन्त्रीहरूको छनोटका सम्बन्धमा छलफल तीव्र बनाएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर