newskoseli.Com

बालुवाटार न बालकोट, दोबाटोमा नेपाल !

संसद् र सरकारलाई जीवनदान दिने माधव नेपाललाई पुरस्कृत गर्न देउवा र दाहाल उत्साही छन्, उता सार्वजनिक तिरस्कार गरे पनि नेपाललाई स्वीकार्ने नाटकीय मोडको प्रतीक्षामा छन् ओली । दोबाटोको यात्री बनेका छन् माधव नेपाल ।

+++                       +++                         +++

मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका कामकारबाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग मंगलबार बिहान भएको भेटमा नेपालले पार्टी एकताका लागि छलफल चलिरहेको उल्लेख गर्दै सरकारमा सहभागी हुने–नहुने विषयमा दुई–तीन दिन पर्खन आग्रह गरेका हुन् । नेपाललाई पर्खने भन्दै कांग्रेस र माओवादी केन्द्र आफैंले पनि ढिलाइ गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । देउवाले यसका लागि पहल गर्न दाहाललाई जिम्मा दिएका छन् । यसै सन्दर्भमा दाहाल र नेपालबीच पटक–पटक कुराकानी भइसकेको छ । पार्टी एकताका लागि एमाले अध्यक्ष खड्ग ओलीसँग राजनीतिक र सैद्धान्तिक अडान राखेकाले नेता नेपाल निर्णयमा पुग्न नसकेको स्रोतको भनाइ छ । नेता नेपालले पार्टीको संस्थापन पक्षसँग र आफ्नो समूहमा बुधबार छलफल गरेर उपयुक्त निर्णय लिने जानकारी सत्ता गठबन्धनलाई गराएका छन् ।

दाहाल र श्रेष्ठसँगको भेटमा नेता नेपालले प्रतिनिधिसभा विघटन गलत भएको स्वीकादै पुनर्स्थापित प्रतिनिधिसभाको कार्यकाल पूरा राख्ने सुनिश्चित गर्न अध्यक्ष ओली पक्ष तयार भए पार्टी एकता सम्भव हुने बताएको स्रोतले जनाएको छ । माओवादी नेता श्रेष्ठका अनुसार नेपालले आफू सकभर पार्टी एकताको पक्षमा भएको बताएका थिए । ‘उहाँ (नेपाल) ले तपाईंहरू आफ्नो निर्णय (मन्त्रिपरिषद् विस्तार) गर्नोस्, कुनै कारण पार्टी एकता भएन भने त्यतिबेला सल्लाह गरौंला भन्नुभयो’– श्रेष्ठले भने ।

नेता नेपाल देउवा सरकारमा सहभागी हुने मनस्थितिमा भए पनि उनी पक्षका स्थायी कमिटी नेताको दबाबका कारण अन्योलमा परेको स्रोतको भनाइ छ । उनले यसबारे सुझाव लिन बुधबार आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बोलाएका छन् (यो बैठक बिहीबारका लागि सरेको छ) । एमालेका स्थायी कमिटी सदस्य एवं नेपालपक्षीय नेता वेदुराम भुसालले भने आफूहरु तत्काल सरकारमा जान नसक्ने बताए । ‘अहिले हाम्रो प्राथमिकता सरकारमा जाने होइन, पार्टीको कुरा नटुंगिइकन सरकारमा जाने कुरै हुँदैन’– उनले भने ।

देउवा, दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सैद्धान्तिक सहमति गरेको थियो । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपछि देउवामाथि चौतर्फी दबाव परिरहेको छ । बुधबार साँझसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको खबर बबिता शर्माको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर