माओवादी केन्द्रले वैशाखभित्रै हुने स्थानीय निर्वाचन, त्यसपछिका प्रदेश र संघीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीलाई राजनीतिक र सांगठनिक रूपमा पुनर्जीवन दिने प्रयास थालेको छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार–पाँचवटा विकल्पसहितको मार्गचित्र समेत कोरेका छन् ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता ‘बदर’ गरेसँगै एमालेसँग एकतापूर्वको अवस्थामा फर्केको माओवादी केन्द्र संघदेखि प्रदेशसम्म सत्ता राजनीतिमै केन्द्रित छ भने सांगठनिक रूपमा कमजोर बनेको छ । संगठनलाई बलियो बनाएर चुनावी तयारीको रणनीतिमा जुट्नका लागि शनिबारदेखि पार्टी केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठकमा पुसमा राष्ट्रिय सम्मेलन गर्ने गरी कार्ययोजना पेस हुने माओवादीले जनाएको छ ।
‘देशैभरि पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गर्नेदेखि संरचना नभएका ठाउँमा नयाँ निर्माण गर्नेसम्मका योजना छन्,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने– ‘पहिले पार्टी, जनवर्गीय संगठन र मोर्चाहरूको निर्माण गर्नेलगायत करिव तीनमहिने कार्ययोजना बनाउँदै छौं । यही केन्द्रीय कमिटी बैठकले माओवादीको दिशाबोध गर्छ ।’
प्रचण्डको मार्गचित्रमा पनि पहिलो प्राथमिकता सदस्यता नवीकरण, संगठन निर्माणलगायत नै छ । दोस्रोमा माओवादी पार्टीहरूबीच सहकार्य र सम्भव भएसम्म पार्टी एकता गर्ने, तेस्रोमा कम्युनिस्ट शक्तिहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने, चौथोमा अहिलेको गठबन्धनलाई चुनावी गठबन्धन बनाउने र पाँचौंमा त्यही गठबन्धनको बलमा पुनः केन्द्र र प्रदेशको सत्ता राजनीतिमा आफूलाई निर्णायक शक्ति बनाउने प्रचण्डको मार्गचित्र छ ।
‘जबसम्म लोकतन्त्र सुनिश्चित भयो भन्ने हुँदैन, त्यतिन्जेल वाम–लोकतान्त्रिक गठबन्धनलाई अगाडि लैजान्छौं,’ स्थायी कमिटी सदस्य वर्षमान पुनले भने– ‘दीर्घकालीन रूपले विचार मिल्नेहरू एक ठाउँ आउने वातावरण बनाउँछौं ।’
प्रचण्डमा पार्टीलाई बलियो बनाउने इच्छा देखिए पनि त्यतिले मात्रै नपुग्ने नेता राम कार्कीले बताए । ‘उहाँलाई स्वाभाविक रूपले पार्टीलाई फेरि बलियो बनाउने इच्छा छ तर त्यो इच्छा मात्रैले हुँदैन; नीति, विचार र आचरणले डोर्याउनुपर्छ,’ उनले भने– ‘अहिले हामी विघटनको संघारमा छौं, यस्तो अवस्थामा कसरी आयौं भनेर कठोर समीक्षा हुनुपर्छ । यो समीक्षा गर्ने आँट अब प्रचण्डले गर्नुपर्छ, अरूले गरेर पुग्दैन ।’
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको बुझाइमा आफ्नो पहिचान पुनर्स्थापित हुने–नहुने कुराले माओवादीको भविष्य तय हुनेछ । ‘माओवादीले आफ्नो पहिचान गुमाउँदै गयो, हामीले जुन वर्गको मुक्तिको कुरा गरेका थियौं, त्यो वर्ग र आजका माओवादी नेता–कार्यकर्ताबीचमा तालमेल छैन, त्यसकारण सबैभन्दा ठूलो चुनौती आफ्नो पहिचान फर्काउन सक्छौं कि सक्दैनौं भन्ने हो’– उनले भने ।
माओवादीहरूबीचको सहकार्य र सम्भव भएसम्म पार्टी एकता गर्ने रणनीतिअन्तर्गत प्रचण्ड मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल किरातीलगायतका पूर्वसहकर्मीसँग संवादमा छन् । कम्युनिस्ट शक्तिहरूबीच ध्रुवीकरण गर्ने योजनाअन्तर्गत प्रचण्ड मुख्यतः एमालेको माधवकुमार नेपाल पक्षसँग नियमित छलफलमा छन् । प्रचण्डको बुझाइमा नेपालले एमालेबाट विद्रोह गर्ने र त्यसपछि कम्युनिस्ट शक्तिहरूबीच ध्रुवीकरण हुने सम्भावना छ । नेपालले पनि बृहत्तर कम्युनिस्ट एकतामा जोड दिइरहेका छन् ।
यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जसपा पनि समेटिने प्रचण्डको बुझाइ छ । संघ र प्रदेशमा सकेसम्म धेरै चुनावकेन्द्रित लोकप्रिय कार्यक्रम ल्याउने र त्यसको जगमा मतदातासम्म पुग्ने प्रचण्डको योजना रहेको खबर बबिता शर्माको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।