newskoseli.Com

कहिले खुल्छ ड्राइभिङ लाइसेन्सको फर्म, कहिले हुन्छ परीक्षा ?

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेका छन् । कोभिड– १९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन ।

सरकारले गत वर्षको लकडाउनको अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम समेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् । यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन (फाराम) खोल्ने तयारी गरे पनि तत्काल भने फेरि नखुल्ने देखिएको छ ।

पछिल्लो समय कोभिड– १९ को संक्रमणको नयाँ लहर तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल परीक्षा सञ्चालन नगर्नेमा पुगेको हो । यसअघि विभागका महानिर्देशक नमराज घिमिरेले साउन अन्तिमसम्ममा लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र फाराम खुलाउने तयारी गरेका थिए । तर, संक्रमण बढ्न थालेपछि विभाग अहिले नै परीक्षा खुलाउनबाट पछि हटेको छ ।

संक्रमण बढेसँगै सरकारले बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ । कतिपय स्थानमा स्थानीय तहले निषेधाज्ञा जारी गर्ने तयारी समेत गरेका छन् । लाइसेन्सको नियमित रूपमा परीक्षा सञ्चालन हुन नसक्दा परीक्षा दिनेहरू लामो समयदेखि पालो कुर्नुपर्ने बाध्यतामा परेका छन् । १८ वर्ष उमेर पुगेपछि लाइसेन्स लिन पाउने व्यवस्था छ । तर, निषेधाज्ञाअघि नै करिब ६ लाख जनाले लाइसेन्स परीक्षाका लागि आवेदन दिएको विभागले जनाएको छ ।

विभागले हाल देशभर करिव १३ लाखले नयाँ लाइसेन्सका लागि कुरिरहेको हुन सक्ने अनुमान गरेको छ । यसअघि वार्षिक रूपमा ६ लाखले लाइसेन्सका लागि परीक्षा दिने गरेको विभागको तथ्यांकले देखाउँछ । सरकारले पछिल्ला वर्षदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । २० लाखले स्मार्ट लाइसेन्स लिएको र ७ लाखले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएको विभागले जनाएको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर