newskoseli.Com

मन्त्रिपरिषदमै किन अड्कियो एआईजी थप्ने प्रस्ताव ?

नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेर अड्किएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो ।

गृहले प्रहरीको सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा लगेको हो । यसअघि प्रहरी प्रधान कार्यालयले एआईजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि तीनवटा मात्रै थप गर्ने गरी प्रस्ताव अघि बढाइएको हो ।

सरकारले पनि एआईजी तहमा तीनवटा दरबन्दी थप गर्न सकिने संकेत दिएपछि सोहीअनुसार प्रस्ताव गरिएको प्रहरी प्रधान कार्यालयसम्बद्ध स्रोतको भनाइ छ । ‘प्रहरी प्रधान कार्यालयले एआईजी तहमा दरबन्दी थप्ने प्रस्ताव सहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो । सो प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ, अबको केही दिनमा स्वीकृत हुन सक्छ’– प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।

यसअघि अर्थ मन्त्रालयले रोकेर राखेको दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै जोडबलमा अघि बढाइएको हो । प्रहरी प्रधान कार्यालयले एआईजी र डीआईजी तहमा नयाँ दरबन्दी थपका लागि सिफारिस गरेको यो तेस्रो पटक हो । प्रधान कार्यालयले भदौ र कात्तिकमा पनि दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको थियो ।

सोही प्रस्तावअनुसार दरबन्दी थपका लागि बजेट स्वीकृत गर्न गृहले अर्थ मन्त्रालयमा सिफारिसपत्र पनि पेस गरेको थियो । उतिबेलाको प्रस्ताव स्वीकृत नभएपछि अहिले एआईजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको हो । हाल नेपाल प्रहरीमा प्राविधिकसहित ६ एआईजी छन् । यो प्रस्ताव स्वीकृत भएमा एआईजी तहमा नौ दरबन्दी हुने खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर