newskoseli.Com

छोरीले गराइन् आमाको विवाह

आमा बुबाले आफ्ना छोराछोरीको विवाह गरिदिएको तपाई हामी सबैले देखेका छौँ तर आफैँले जन्माएकी छोरीले आमालाई अन्माइनभन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।

कुरा  झापाको बिर्तामोड नगरपालिकाको हो । बिर्तामोड नपा–७ बिर्तामोड निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीको विवाह छोरी १८ वर्षीया अप्सना शिवाकोटीले गरिदिएकी हुन् । भारतको राजस्थानका प्रकाश राहुल खटवानीसँग अप्सनाले आमा अम्बिकाको विवाह गरेर आज अन्माइदिएकी छन् । एक वर्षअघि फेसबुकमार्फत उनीहरुको चिनजान भएपछि उनीहरुको प्रेम झाङ्गिँदै गएको थियो ।

अप्सनाले आफ्नी आमा र प्रकाशबीचको प्रेम सम्बन्ध बढ्दै गएको थाहा पाएपछि सामाजिक परम्पराअनुसार आज झापाको शनिअर्नुन नगरपालिकामा रहेको पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आमाको विवाह गर्दै अन्माएकी हुन् । धाम परिसरमा अप्सनाले हिन्दू संस्कारअनुसार नै आमा अम्बिका र प्रकाशबीचमा विवाह गराएपछि हेर्नेको घुइँचो लाग्यो ।

सामाजिक सङ्घसंस्थामा सक्रिय अम्बिका अहिले वीरता लेडी जेसीज बिर्तामोड, गोदावारी समाजलगायत थुप्रै सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । सामाजिक क्षेत्रकी अगुवा अम्बिकाको विवाह छोरीले गर्दैछिन् भन्ने सुनेर धाम परिसरमा धेरै स्थानीयवासीको उपस्थिति थियो । आफ्नै विवाह गर्ने उमेरमा किन गरिन् त आमाको विवाह अप्सनाले ? धेरै जनाको प्रश्नको सहजै हाँसीहाँसी उत्तर दिँदै अप्सनाले भनिन्– “आमालाई गाह्रो नहोस् भनेर मैले आमाको विवाह गरिदिएकी हुँ ।”

अम्बिकाको विवाह २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग भएको थियो । तर उनीहरुको दाम्पत्य जीवन धेरै दिन टिक्न सकेन । विसं २०६७ मा खगेन्द्रको आफ्नै घरको छतबाट खसेर मृत्यु भएपछि अम्बिका र अप्सना मात्र घरमा बस्दै आएका थिए ।

अक्थ्थोलोजी (नेत्र रोग विशेषज्ञ) अध्ययनको सिलसिलामा अप्सना पनि भारतको बैङ्लोरमा अध्ययनका लागि गएपछि अम्बिका पछिल्लो समय एक्लै बस्दै आउनुभएको थियो । बिर्तामोडमा नै व्यवसाय सञ्चालन गर्दै आउनुभएकी आमालाई म अध्ययन गर्न भारत गएपछि असहज नहोस् भनेर आमा र मेरो सल्लाहमा नै मैले उहाँको विवाह गरिदिएकी हुँ अप्सनाले भनिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर