newskoseli.Com

‘भेनेजुयला प्रकरण’ मा ‘पछि हटे’ प्रचण्ड : भने– मलाई फसाइयो !

नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३ सय ४८ माइल) टाढाको मुलुक भेनेजुयलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा वक्तव्य दिए ।

अध्यक्ष प्रचण्डको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो । भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको तथा सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो ।

यसअघि क्रिमिया, कतार, माल्दिभ्स, आदिका राजनीतिक संकटबारे नेपाल र यहाँका नेताले मुखै खोलेका थिएनन् । तर, प्रचण्ड एकाएक भेनेजुयलाबारे बोलेपछि राजनीतिक र कूटनीतिक वृत्तमा तरंग आएको छ । दुईतिहाइ सरकारको नेतृत्व गरिरहेको दलका एउटा अध्यक्षले दिएको वक्तव्य सरकारकै पनि ‘करिव’ धारणा मान्ने कूटनीतिक प्रचलन छ । स्वाभाविक रूपमा यसको असर सरकार र देशभित्र पर्छ नै । अनेकौं प्रतिक्रिया आए । यसबारे बोल्न सरकार पनि बाध्य भएको छ ।

प्रचण्डले १० माघमा वक्तव्य दिए । भोलिपल्टै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी ओलीले कुनै पनि विषयमा टिप्पणी गर्न हतारिनु नहुने बताए । अमेरिकाले यसबारे परराष्ट्र मन्त्रालयमार्फत सरकारको धारणा पनि माग्यो ।

वक्तव्यको भाषामा आफूलाई ‘फसाइएको’ निकट नेताहरूसँग प्रचण्ड आफैंले अहिले खुलासा गर्न थालेका छन् । ‘वक्तव्यको भाषाका विषयमा कहीं न कहीं साथीहरूले मलाई फसाउनुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उच्च स्रोतले भन्यो– ‘वक्तव्य दिनु ठीकै थियो तर भाषामा अलि कमजोरी रह्यो, कूटनीतिक भाषा प्रयोग गर्न सकिएन ।’

स्रोतका अनुसार, वक्तव्य दिने विषयसँग प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य बलराम बास्कोटा पनि जोडिएका थिए । नेता श्रेष्ठसँग यसबारे सामान्य परामर्श गरे पनि वक्तव्यमा उल्लेखित भाषाको अन्तिम मस्यौदा चाहिँ नेपाल र प्रचण्ड बसेर तयार पारेका थिए । प्रचण्डले वक्तव्य दिँदैछन् भन्ने उनको सचिवालयका कसैलाई पनि थाहा थिएन । पत्नी सीता दाहाल र खानेपानी मन्त्री समेत रहेकी बुहारी बिना मगर भाइरल ज्वरोका कारण सुमेरु अस्पतालमा उपचाररत थिए । सचिवालयका अन्य सहयोगी पनि त्यस दिन प्रचण्ड निवासमा थिएनन् ।

शुक्रबार बिहानै वरिष्ठ नेता नेपालले प्रचण्डलाई टेलिफोन गरेर बलराम बास्कोटा खुमलटार आउँदैछन् भनी नाम टिपाएका थिए । प्रचण्ड पनि ज्वरो आएर आराम गरिरहेका थिए । एक सहयोगीका साथ बास्कोटा खुमलटार पुगेर आफूसँगै लगेको ल्यापटपबाट वक्तव्यको ‘ड्राफ्ट’ पेनड्राइभमा छाडेर निस्केका थिए ।

त्यसपछि दाहालले नेपालसँग छलफल गरेर वक्तव्यलाई अन्तिम रूप दिएका थिए । प्रधानमन्त्री ओली त्यसबेला स्विट्जरल्याण्डको डावोसमा थिए । पार्टी एकतापछि चाडपर्वमा बाहेक आन्तरिक सर्कुलरदेखि अन्य सबै मामिलामा दुवै अध्यक्षको संयुक्त हस्ताक्षरमा मात्र वक्तव्य आउने गरेका थिए । तर, २४ घन्टापछि स्वदेश आइपुग्ने अर्का अध्यक्षलाई नपर्खी प्रचण्डले भेनेजुयलाबारे हतारमा वक्तव्य दिए । केही नेताले प्रचण्डको वक्तव्यको भाषा फेरिएको बताइरहेका छन् । प्रचण्ड भने यसबारे केही बोलेका छैनन् । प्रचण्ड बुधबारदेखि मात्र सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् ।

प्रचण्डनिकट नेताहरू पनि वक्तव्यको भाषाप्रति सन्तुष्ट छैनन् । ‘हामीले यो विषयमा बोल्नु नै ठूलो कुरा हुन्थ्यो, वक्तव्यको भाषा सन्तुलित र कूटनीतिक भए राम्रो हुन्थ्यो,’ प्रचण्डनिकट एक नेताले भने– ‘नाम लेखेर, किटान गरेर लेखिनु राम्रो होइन, त्यहाँ कमजोरी भयो ।’ भेनेजुयलाको संकटले नेपालमा पारेको प्रभावसम्बन्धी यो खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
‘सरकारी वक्तव्य समेत प्रचण्डकै वक्तव्यको सम्पादन मात्र’ ! झन् आक्रोशित भो अमेरिका…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर