प्रतिनिधिसभाको सभामुख–उपसभामुख चयनका विषयमा सत्ताधारी नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।
‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनका लागि सहज हुने गरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्– ‘मैले राजीनामा दिने कुरा ठूलो विषय होइन, योभन्दा पहिले पार्टीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’ सभामुखमा आफ्नो दाबी पेस गरिरहेकी उनी पार्टीले सभामुखका लागि नाम तय गरेपछि राजीनामा दिने मनस्थितिमा रहेको स्पष्ट बुझिन्छ ।
आफूले सभामुख नपाए पनि सभामुखको उम्मेदवार छानिएपछि सहज वातावरण निर्माण गर्ने उनले बताएकी छन् । आफूले सभामुख नपाउँदा आफ्नो भूमिका के हुने भनी पार्टी नेतृत्वलाई समेत उनले प्रश्न गरेकी छन् । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा उपसभामुख तुम्बाहाङ्फेसँगै संविधानसभाको अध्यक्ष एवं पूर्वसभामुख रहिसकेका सुवासचन्द्र नेम्वाङले दाबी गरिरहेका छन् । तुम्बाहङ्फे–नेम्बाङ दुवै तत्कालीन एमालेतर्फका नेता हुन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले एक सातापछि दोस्रो बैठक बोलाउने र सभामुख निर्वाचनलगायतका विषयमा छलफल गर्ने निर्णय गरेको थियो । सभामुख निर्वाचन हुने बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने छैनन् । सभामुख र उपसभामुख निर्वाचन हुने संसद बैठकको अध्यक्षता प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सभामुख–उपसभामुखको निर्वाचन गर्ने बैठकको अध्यक्षता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं सांसद महन्थ ठाकुरले गर्ने खबर सविन शर्माको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।
थप यो पनि पढ्नुहोस्–
आजै राजीनामा दिँदै उपसभामुख, सभामुखमा नेम्बाङकै सम्भावना