newskoseli.Com

सञ्चारमन्त्रीको राजीनामाअघि धेरै नेताबीच छलफल : क–कसले के–के भने ?

सञ्चार तथा सूचना प्रविवधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बिहान आफ्नै निवासमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए । प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै प्रचण्डले श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे ।

ओली र प्रचण्डबीच बिहीबार बिहान भेट्ने कार्यक्रम अघिल्लो दिन नै तय भएको थियो । पार्टी अभियान, एकताका बाँकी काम, एमसीसी कार्यदलको तयारीलगायतका विषय कार्यसूची थिए । बाँस्कोटाको ‘घुस प्रकरण’ को अडियो सार्वजनिक भएपछि प्रचण्डले प्रधानमन्त्रीसँग भेट्नु अगाडि पार्टीका नेताहरुसँग पनि छलफल गरेर मात्रै बालुवाटार जानु उचित हुने ठाने ।

प्रचण्ड निवासमा के भयाे ?

प्रचण्ड निवास स्रोतले भन्यो– ‘त्यसपछि प्रचण्डले थापा र श्रेष्ठलाई निवासमै बोलाउनुभयो, सम्भव भएसम्म सचिवालयका अरु नेताहरूसँग टेलिफोनमा सम्पर्क गर्नुभयो ।’ गृहजिल्ला रौतहटको गौरमा रहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि प्रचण्डले टेलिफोनमा छलफल गरे । मन्त्री बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव वरिष्ठ नेता नेपालले दिए । नेपाल, श्रेष्ठ र थापाको राय लिएर प्रधानमन्त्रीलाई भेट्न साढे १० बजे प्रचण्ड बालुवाटार पुगे ।

ओलीसँगको छलफलमा प्रचण्डले सञ्चार मन्त्रीलाई राजीनामा दिन लगाई छानबिनमा सहयोग सहज बनाइदिनुपर्ने मत राखे । ओली भने एक पटक सञ्चार मन्त्रीसँग छलफल गर्ने पक्षमा थिए । त्यसबीचमा प्रतिपक्षी कांग्रेसबाट समेत बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने वक्तव्य आइसकेको थियो । कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बाँस्कोटाले राजीनामा माग्यो । सामाजिक सञ्जालमा पनि सञ्चार मन्त्रीको आलोचना चुलिँदै गयो ।

प्रतिपक्षीकाे अवराेध

कांग्रेसले राष्ट्रियसभा अवरुद्ध पारेर प्रतिनिधिसभामा पनि अवरोध गर्न खोजेपछि प्रधानमन्त्री ओलीले सभामुखमार्फत कांग्रेसलाई संसद् नघेर्न सन्देश पठाएका थिए। ‘सञ्चार मन्त्रीले काठमाडौं आएलगत्तै राजीनामा बुझाउनुहुन्छ, संसद अवरुद्ध नगर्नुहोस् भन्ने सन्देश सुनाइदिनुहोला’– प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटामार्फत कांग्रेस नेताहरूलाई सन्देश पठाए ।

अनि यसाे भयाे–

मन्त्री बाँस्कोटा सुदूरपश्चिमबाट राजधानी आउँदै थिए । साढे २ बजे त्रिभुवन विमानस्थलमा ओर्लेर सञ्चारमन्त्री बाँस्कोटा सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओलीलाई भेटे । ओलीको सुझावपछि उनले पदबाट राजीनामा दिए । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको छु’– राजीनामा दिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

थप याे समाचार पनि पढ्नुहाेस्–
सञ्चार मन्त्रीले मागे ७० करोड घुस, कर्मचारीलाई बोले अश्लील शब्द (भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर