गतसाता बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारसम्म (बढीमा अबको तीन दिनभित्र) डिस्चार्ज भएर सरकारी निवास बालुवाटार फर्कने भएका छन् ।
उनकी मिर्गौलादाता भान्जी समीक्षा संग्रौला ज्ञवालीलाई भने बुधबार नै डिस्चार्ज गरिँदै छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार डिस्चार्जका लागि प्रत्यारोपण टोलीले आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गरी निर्णय लिने प्रक्रिया चलिरहेका छ ।
हालसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सोचेअनुरुप नै सुधार भएको उनले बताएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी भएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज पार्न राखिएको ‘क्याथेटर’ (पाइप) सोमबार झिकिएको छ । पेटमा राखिएको ‘ड्रेन’ (पाइप) पनि मंगलबार झिकेपछि प्रधानमन्त्री बुधबार डिस्चार्ज हुने उनले बताए । शल्यक्रियापछि रसाउने रगत र पानीको मात्रा बाहिर निकाल्न क्याथेटर र ड्रेन राखिन्छ ।
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सोमबार जनाएको छ । नियमित खानपानसँगै प्रधानमन्त्री दैनिक हिँडडुल र व्यायाममा रहेको अस्पतालले जनाएको छ ।
यो पनि पढ्नोस्–
अस्पताल भर्ना हुनुअघि के भने प्रधानमन्त्री ओलीले ? (भिडियो सन्देश र पूर्ण पाठसहित)