चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगी अड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो ।
चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भीडन्त र त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे छलफल भएको हो । दुई छिमेकी मुलुकका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा बढेको तनाव र त्यसले नेपाललाई पार्न सक्ने सुरक्षा प्रभावबारे खुलेरै छलफल भएको सैनिक स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकाली वार्ताका माध्यमबाट जारी तनावको समाधान गर्न चीन र भारतलाई आग्रह गरिसकेको छ । नेपालले दुवै छिमेकीलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको छ । जंगी अड्डामा भएको पृतनापति बैठकमा पनि चीन–भारत सीमा समस्या र त्यसले नेपाललाई पार्न सक्ने सम्भावित असरको विषयले प्रवेश पाएको हो । बाह्य गतिविधिले नेपालको आन्तरिक सुरक्षामा उत्पन्न गराउन सक्ने चुनौतीबारे बैठकमा छलफल चलेको थियो ।
चीन र भारतबीच बढेको तनावले नेपालमा के–कस्तो सुरक्षा चुनौती बढ्न सक्छ, त्यसको सूक्ष्म विश्लेषण गर्नुपर्ने धारणा प्रधानसेनापति पूर्णचन्द्र थापाले राखे । त्यसबाट नेपाललाई पर्न सक्ने असर र त्यसले उत्पन्न गराउन सक्ने चुनौती विश्लेषण गरी सोहीबमोजिम रणनीति र कार्ययोजना तयार पार्न सम्बन्धित विभागलाई उनले निर्देशन दिएको खबर शम्भु कट्टेलको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
यो पनि पढ्नुहोस्–
‘विप्लवका गतिविधि चुनौतीपूर्ण’ : सेनाको विश्लेषण