विध्वंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग खड्ग ओली नेतृत्वको कामचलाउ सरकारले ‘अनौपचारिक वार्ता’ सुरु गरेको छ ।
नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका एक जना शीर्ष नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई खानेपानीमन्त्री मणिचन्द्र थापाले मंगलबार कारागारमै पुगेर भेट गरी ‘वार्ता’ को थालनी गरेका हुन् । विप्लव नेकपालाई ‘राजनीतिको मूलधारमा ल्याउन’ सरकारले प्रयत्न गर्दै आइरहेका बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
कारागारमा मन्त्री थापाले नेता सुदर्शनसँग करिव ३० मिनेट कुराकानी गरेका थिए । आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव नेकपाका नेता सुदर्शनसँग भेट भएको जानकारी मन्त्री थापाले दिए ।
‘उहाँ र म घनिष्ट मित्र हौं, काठमाडौं बसाइँका क्रममा र पढाइका क्रममा धेरै निकट भयौं,’ मन्त्री थापाले भने– ‘जनयुद्ध लड्दा पनि हामी सँगै भयौं, अहिले उहाँको स्वास्थ्यमा समस्या भएको पनि सुनें त्यसैले अनुगमनका लागि कारागार पुगेका बेला भेट भएको हो ।’
विश्वस्त स्रोतहरूले भने मन्त्री थापा र नेता सुदर्शनबीच वार्ताकै प्रसंगमा लामो कुराकानी भयो । नेता सुदर्शनले आफू लामो समयदेखि जेलमा रहेका कारण वार्तासम्बन्धी पार्टीका पछिल्ला निर्णय, धारणा र अवस्थाबारे केही भन्न नसक्ने मन्त्री थापालाई बताए । सरकारले सही नियतका साथ र गम्भीरतापूर्वक वार्ता गर्नै खोजेको हो भने आफ्नो पार्टी पनि सिद्धान्ततः वार्ताविरोधी नरहेको नेता सुदर्शनले उल्लेख गरे ।
सरकार–विप्लव नेकपा वार्ता–प्रसंगसम्बन्धी यो खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।