भारतवर्षका चर्चित कूटनीतिज्ञ एवम अर्थशास्त्री कौटिल्य अर्थात् चाणक्यको जन्म ईशापूर्व ३७५ मा पञ्जाबमा भएको मानिन्छ । उनले तक्षशिला नामक प्राचीन विश्वविद्यालयमा अध्ययन गरेका थिए ।
चाणक्यको जन्म पञ्चाबमा भए पनि कर्मभूमि पाटलीपुत्र (पटना) लाई बनाएर मौर्यवंशको स्थापना गराए । आफू महामन्त्री रही उनले मौर्यहरुको शासन चलाए । चाणक्यले मौर्यवंशीय प्रथम सम्राट चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए ।
चाणक्यले चन्द्रगुप्तको शासनपछि चन्द्रगुप्तका छोरा विन्धुसारको शासन चलिरहँदा उनका छोरा अशोकलाई आफ्ना ‘चाणक्य नीति’ सिकाए । यो नीतिलाई अशोकले आफ्नो शासनकालमा लागू गरे ।
चाणक्य नीतिमा राज्यसञ्चालनका यस्ता विधिहरु थिए–
- सुरक्षासम्बन्धी खास नीति थिए, जसको कडा परिपालना ।
- स्वधर्मको कडा परिपालना । सामाजिक दायित्वसम्बन्धी नीतिहरुको परिपालना ।
- जनकल्याणका कामहरुसम्बन्धी नीतिको परिपालना ।
- कूटनीति सञ्चालनका चार सिद्धान्त– ‘साम–दाम–दण्ड–भेद’ लागू ।
- ६ सूत्रीय परराष्ट्रनीति– ‘सन्धि, विग्रह, यान, आशन, संक्षय, दैवीभाव’ को कार्यान्वयन ।
- विशिष्ट खालको गुप्तचर नीतिको कार्यान्वयन ।
राज्यसञ्चालन सम्बन्धी चाणक्यका यी नीति हुन् भने ज्ञान, समाज र जीवनसम्बन्धी उनका सयौं अरु नीतिहरु पनि छन् ।
नीति, सिद्धान्त र कूटनीतिका क्षेत्रमा चाणक्यका नामले चर्चित उनी अर्थशास्त्र र आर्थिक नीतिका सन्दर्भमा कौटिल्य नामले विश्वभरि चर्चित छन् । उनको औपचारिक या वास्तविक नामचाहिँ विष्णुगुप्त हो ।