newskoseli.Com

नेकपालाई ‘फुटबाट जोगाउने’ अन्तिम दुई उपाय यी हुन् !

एकताको निरन्तरताका पक्षमा रहेका नेताहरूसँगको अन्तर्क्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ । भित्र अध्यक्ष ओलीको ‘जवाफ’ तयार भइरहेको छ, बाहिर ‘मेलमिलापका दौडधूप’ उत्तिकै चलिरहेका छन् । यस सन्दर्भमा मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ–

उपाय– १ : जम्मा २ अध्यक्ष, बाँकी सबै भंग

सचिवालय भंग गर्ने महासचिवको ‘प्रस्ताव’ सँगै नेताहरू यसको बहसमा उत्रिएका छन् । ‘सचिवालय मात्र होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी पनि भंग गरौं । मिलेर चल्ने वातावरण दुई अध्यक्षलाई दिऔं र चाँडोभन्दा चाँडो महाधिवेशनमा गएर नेतृत्व र सबै संरचना बनाऔं’– महासचिव पौडेलले भने झैं सचिवालय ‘झगडाको मुख्य थलो’ हो । तर, नेकपाको लफडा पछिल्लो समय अल्पमत–बहुमतकेन्द्रित छ । जुनसुकै कमिटीमा पनि यो रोग छिर्दैन भन्न सकिन्न ।

हुन पनि नेकपा पहिलेको संसदजस्तै बन्न पुगेको छ । त्यतिबेला गठबन्धन मिलाएर सरकार बनाइन्थ्यो, चलुन्जेल चलाइन्थ्यो नत्र ढल्थ्यो । सांसद किनिन्थ्यो, पार्टी फुटाइन्थ्यो । सकेको हथकन्डा अपनाएर अर्को सरकार बनाइन्थ्यो । त्यसको भविष्य गन्ती त्यही दिन सुरु हुन्थ्यो । नेकपा अहिले ठ्याक्कै त्यही हालतमा छ । यसमा कहिले कता अल्पमत, कहिले कता बहुमतको गणित चल्न थाल्यो । आफूलाई दर्बिलो बनाइराख्न सादा कागजमा हस्ताक्षर गराएर ‘कायल बनाउने’ देखि आफैंले टिकट दिएर बनाएका सांसद किन्नेसम्मको अवस्था आइसक्यो । यसभन्दा दुर्गन्धित रूप के हुन्छ ?

एमाले र एमाओवादी एकीकरणका क्रममा एकताको महाधिवेशन नहुँदासम्मलाई दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन गर्ने निर्णय भएको थियो । यस आधारमा हेर्दा अन्य कमिटीका गन्थन–मन्थन, बहुमत–अल्पमतका कुरा बरालिने विषय मात्र हुन् । पार्टीभित्रै पार्टी छन्, तिनका पनि गुट–उपगुट छन् । तिनमा अनेक आकांक्षा, तृष्णा र भोक छन् । तिनको व्यवस्थापनका नाममा कहिले कता पल्ला भारी हुने गरेको छ, कहिले कता ।

यो रोगबाट मुक्तिको उपाय नै दुई अध्यक्षले मिलेर पार्टी चलाउने, बाँकी विघटन गर्ने हो । समाधान चाहने नेताहरूको राय यही छ ।

उपाय– २ : सम्पूर्ण भंग, महाधिवेशन आयोजक समिति निर्माण

दुई अध्यक्ष मिलेर पार्टी चलाउन नसक्ने हो भने दोस्रो उपाय अपनाउन सकिन्छ– सबै भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने । एकता महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्न नचाहने (वर्तमान दुई अध्यक्षबाहेक) शीर्ष नेतालाई संयोजक बनाउने । उदाहरणका लागि झलनाथ खनाल हुन सक्छन् । उनी पुनः अध्यक्ष बन्ने चाहनामा देखिँदैनन् र उनको खास गुट पनि छैन । (यो उदाहरण मात्र हो, अरू जो–कोही हुन सक्छन् ।)

झन्डै दुईतिहाइ बहुमत प्राप्त नेकपा आन्तरिक झगडाकै कारण फुट्न मात्र लागेको छैन, जनमत समेत गुमाउँदै गएको छ । यो परिस्थितिामा अघि बढ्ने दुई बाटा छन्–

१. ध्वंसात्मक अर्थात् एक पक्षले अर्कालाई गालीगलौज गर्ने; यसरी नै चलिरहने, नचलेका दिन पार्टी फुटाउने ।
२. रचनात्मक अर्थात् खिया लागेका नट–बोल्ट सफा गर्ने, एकता झन् कसिलो बनाउने ।

सत्तारूढ दलले सोच्ने विषय यो छ कि ‘कम्युनिस्ट’ फुटोस् र घ्वाप्प खान पाइन्छ भन्दै धुप हालेर बस्ने धेरै छन् । तिनैलाई उनीहरूले मलजल पुर्‍याइरहेका छन् । दलभित्रका छिद्र पुर्दै जानुपर्नेमा, थप्दै लगेका छन् । एकताका यतिका दिनसम्म आइपुग्दा गल्ती दुवै नेताबाट भए होलान् । अहम् दुवैमै होलान् ।

तर, दुई ठूला ‘कम्युनिस्ट’ पार्टीको एकीकरण गल्ती थिएन । गल्ती त फेरि फुटाउँदा हुनेछ । दुवैले अलिकति अहम् त्याग्दा वा फराकिलो छाती बनाउँदा नेकपा जीवित रहन सक्छ । त्यसका लागि उत्तम समाधान माथिका ‘दुई उपाय’ हुन सक्छन् कि भन्ने सुझावसहितको खबर अखण्ड भण्डारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

यी सामग्री पनि पढ्नुहोस्–
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर